घरदैलोमा आँखा शिविर : मोतिबिन्दु भएका ४८ जनाको शल्यक्रिया

| 2021 Oct 28 | 08:00 am 2101

जोमसोम, कात्तिक ११ः मुस्ताङको घरपझोङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा वृहत आँखा शिविर सम्पन्न भएको छ। मुस्ताङको घरपझोङमा जिल्ला अस्पताल जोमसोम र लोघेकर दामोदरकुण्ड गाउँपालिका स्वास्थ्य केन्द्रको चराङमा आँखा शिविर सञ्चालन भएको हो।

तिलगंगा आँखा प्रतिष्ठान केन्द्र काठमाडौं र हेटौंडा आँखा अस्पतालको प्राविधिक  सहयोगमा बिहीबारदेखि सुरु भएको आँखा शिविरमा ३ सय ४० जना लाभान्वित भएको जोमसोम अस्पतालकी इञ्चार्ज वरिष्ठ नेत्र सहायक रुमिला नेपालीले जानकारी दिइन्।

मुस्ताङको घरपझोङमा २९ जना र उपल्लो मुस्ताङमा १७ जना गरी कुल ४८ जना मोतिबिन्दु भएका आँखाका बिरामीको शल्यक्रिया गरिएको उनले बताइन्। उनका अनुसार मुस्ताङमा भएको बृहत आँखा शिविरमा हेटौंडा अस्पतालका प्रमुख डा. सुनिल थकाली र अन्य स्वास्थ्यकर्मी लगायतले स्वास्थ्य परीक्षण गरेका थिए।

भौगोलिक रुपले बिकट मानिएको हिमाली जिल्ला मुस्ताङमा यसअघि आँखाको बिरामी भएकालाई सुगमको आँखा अस्पतालसम्म पुगेर उपचार गर्नमा निकै समस्या पर्ने गरेकोमा यस प्रकारको आँखा शिविरले राहत पुर्‍याएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले टेलिफोन मार्फत जानकारी दिए। उनले मुस्ताङको घरदैलोमै आएर आँखा शिविर सञ्चालन गरिएको प्रति तिलगंगा आँखा प्रतिष्ठान केन्द्र र हेटौंडा आँखा अस्पतालका स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरे।

मुस्ताङ जोड्ने सडक यातायातको दुरावस्था र आर्थिक समस्यामा परेका आँखाका बिरामीलाई शिविरले राहत प्रदान गरेको नेपाल रेडक्रस सोसाइटी मुस्ताङ शाखाका सभापति चन्द्रबहादुर थकालीले उल्लेख गरे। मुस्ताङको घरपझोङमा कार्तिक ४ र ५ र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ७ र ८ गते बृहत आखा शिविर सञ्चालन भएको थियो।

मुस्ताङमा भएको बृहत आँखा शिविरका लागि घरझोङ गापा र लोघेकर दामोदरकुण्ड गापा, नेरोसो मुस्ताङ, मुस्ताङ कल्याणकारी संघ, विभिन्न आमा समुह लगायतले व्यवस्थापनमा सहयोग पुर्‍याएका थिए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.