काठमाडौँ कत्तिक ७ : सामाजिक संजालमा एकथरि मान्छेले ब्यापक टिकाटिप्पणी गरेपछि राजिनामा दिएका मन्त्री गजेन्द्र हमालका ज्वाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रस्टाएका छन् । आइतबार नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँगको भेटका क्रममा प्रधानन्यायाधीश जबराले हमाललाई मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई दबाब नदिएको बताए ।
“मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ पनि भनेको छैन मेरो नाता पर्नु दुर्भाग्य हो, तर यसमा मेरो कुनै संलग्नता छैन,” प्रधानन्यायाधीश राणाले भनेको कुरालाई बैठकपछि पत्रकारसँग बारका महासचिव लीलामणि पौड्यालले जानकारी दिए ।
प्रधानन्यायाधीश राणाले न्यायालय सुधारका विषयमा बारले उठाउँदै आएका सम्पूर्ण विषयमा आफू गम्भीर रहेको र त्यसका लागि तत्काल काम सुरु गर्ने छलफलमा बताएको जनाइएको छ ।
समग्र न्यायालय सुधारका विषयमा भोलि सोमबार साढे एकबजे प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक बस्ने र त्यस बैठकमा बार पनि सहभागी भएर बृहत् छलफल गर्ने तय भएको छ ।
बारले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बनाएको प्रतिवेदन कार्यान्वयन नगरेको, स्वतन्त्र न्यायपालिका निर्माणमा तदारुकता नदेखाएको भन्दै बारको शुक्रबारको निर्णयानुसार आज प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गराएको हो ।