अवैध व्यवसायीसँग प्रतिस्पर्धा गर्न वैधलाई कठिन

| 2021 Oct 05 | 08:33 am 1641

कास्की, असाेज १९ः पोखराका काष्ठ व्यवसायीले दर्ताबिना सञ्चालनमा आएका उद्योगी–व्यवसायीसँग प्रतिस्पर्धा गर्न कठिन भएको बताएका छन् । पोखरामा अझै पनि बिना दर्ताका केही उद्योग हुँदा अन्य व्यवसायीले उनीहरूसँग प्रतिष्पर्धा गर्न कठिन भएको बताएका हुन् । अवैध व्यवसाय सञ्चालन हुँदा वैधानिक व्यवसायीलाई समस्या परेको काष्ठ तथा फर्निचर व्यवसायीहरू बताउँछन् ।

काष्ठ तथा फर्निचर व्यवसायी संघ गण्डकीका अध्यक्ष युवराज पौडेलले प्रदेशभर दर्ताबिना सयौंको संख्यामा व्यवसाय सञ्चालन भएको बताए । कास्कीमा ५५० जना संघमा आबद्ध भए पनि उत्तिकै संख्यामा दर्ताबिना व्यवसाय सञ्चालनमा रहेको उनको दाबी छ । “सामान खरिदमा अवैध व्यवसायीले करिब २०—३० प्रतिशतसम्म छुट पनि दिन्छन्, जसले गर्दा राज्यलाई कर तिर्ने व्यवसायी मर्कामा छन् । अवैध व्यवसायीले कर तिर्नुपरेन, वस्तुहरुको बिलबिजक देखाउनु पनि परेन । कहाँबाट कति सामान ल्याएको लेखाजोखा समेत हुँदैन, उपभोक्तालाई चाहिँ जस्तो सामान भए पनि बजार मूल्यमा छुट दिने भए,” उनले भने ।

गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बरालले राज्यको नियमअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गरे । उद्योगधन्दा सञ्चालन गर्दा कानुनी रूपमा आइपर्ने बाधा अड्चन फुकाउन प्रदेश सरकारले पहल गर्ने उनले बताए ।

राज्यले निजी क्षेत्रको पुँजीलाई ठिक ढंगले व्यवस्थित गर्न नसके आर्थिक विकास गर्न नसकिने बराल बताउँछन् । “देशको पुँजीलाई सकभर बाहिर जानबाट रोक्नुपर्छ । सबै उद्योगी–व्यवसायीको जीवनस्तरमा सुधार हुनेगरी आत्मनिर्भर अर्थतन्त्र कार्यान्वयन गर्नुपर्छ,” उनले भने । पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष यामनाथ पौडेलले पनि दर्ताबिना व्यवसाय सञ्चालन गर्नेविरुद्ध लाग्नुपर्ने बताए ।

उद्योग, वाणिज्य तथा उपभोक्ता अधिकार संरक्षण क्षेत्रीय कार्यालयका निर्देशक नारायण आचार्यले बिनादर्ता कसैले पनि उद्योगधन्दा तथा व्यवसाय सञ्चालन गर्न नपाउने बताउँदै कानुन उल्लंघन गर्नेलाई ढिलोचाँडो कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.