माग पुरा नभए उपचार नलिने डा. केसीको अडान, केसीको समर्थनमा आज पनि प्रदर्शन, को को जाँदै छन् ?

| 2018 Jul 21 | 06:57 am 2195

काठमाडौँ, साउन ५  : चिकित्सा शिक्षा सुधारको माग राखी २१ दिनदेखि अनसनरत प्रा डा गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म थप उपचार नलिने अडान राखेका छन् । उनले रगत, मुटुलगायत कुनै परिक्षण गर्न नमानेको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।

शुक्रबारदेखि उनको कुनै पनि परिक्षण गर्न नपाएको डाक्टरहरूले बताएका छन् । ‘सरकारले आफुलाई सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गरी माग पनि पुरा गर्ने बताएर काठमाडौँ ल्याएको थियो । मलाई सुविधा सम्पन्न अस्पताल ल्याएको हैन, यी सबै परिक्षण त जुम्लामै भैरहेको थियो नि ?’ –उनले भने ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. केसीलाई भेटि उनको माग जायज रहेको भन्दै त्यसमा आफूहरुको साथ रहने बताएका थिए । सभापति देउवाले डा. केसीको माग तत्काल सम्बोधन गर्न सरकारलाई पुनः दवाव समेत दिएका थिए । त्रिवि शिक्षण अस्पतालमा डा. केसीलाई भेटेर फर्किएका देउवाले डा. केसीको माग तुरून्त पुरा गर्न सरकारलाई अनुरोध समेत गरेका थिए ।

आज पनि प्रदर्शन, को को जाँदै छन् ?

आमरण अनसनरत प्रा. डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउन आज शनिबार पनि नागरिक प्रदर्शन गरिने भएको छ ।
डा. गोविन्द केसी ऐक्यबद्धता सञ्जालद्वारा शुक्रवार जारी प्रेस विज्ञप्तिमा आज दिउँसो १२ बजे माइतीघर मण्डलामा हुने प्रदर्शनमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की र कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारवादी कृष्ण पहाडी, साहित्यकार खगेन्द्र संग्रौला, नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डे, माथेमा आयोगका प्रमुख केदारभक्त माथेमा, पत्रकार श्याम श्रेष्ठ, प्राध्यापक सुरेन्द्र लाभसहित नेपाल चिकित्सक संघ र विभिन्न संस्थाका प्रतिनिधि सहभागी हुने उल्लेख छ ।

यसैबीच चिकित्सा शिक्षामा सुधारको माग राखेर अनशनरत डा. केसीको समर्थनमा आइतबार आस्ट्रेलियामा प्रदर्शन गर्ने भएका छन् । डा. केसीको अनसनको समर्थन गर्दै आस्ट्रेलियामा बसोबाद गर्दै आएका नेपलालीहरुले प्रदर्शन गर्ने भएका हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.