काठमाडौं, असाेज १५ः गत सोमबार ७७ जना यात्रुको ज्यान बचाउने बुद्ध एयरका विमान चालक आङगेलु शेर्पालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा रोक लगाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार उनलाई उडान भर्न रोक लगाइएको प्राधिकरणले जनाएको छ ।
उनले उडान भरेको जहाज भने प्राविधिक जाँचपछि मंगलबार बिहानदेखि नै सञ्चालनमा आएको छ । तर, दुर्घटनाको नजिक पुगेपछि विमान चालकलाई हुन सक्ने मानसिक तनावलाई ध्यानमा राखेर उनलाई केही दिन उडान भर्नबाट रोक लगाइएको प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।
महानिर्देशक क्षेत्रीका अनुसार बुद्ध एयरले पनि विमान चालक शेर्पालाई उडान भर्नबाट रोक लगाएको छ । शेर्पाको उडान क्षमतामा भने प्राधिकरण र बुद्ध एयरले कुनै कमी–कमजोरी नभएको प्रस्ट पारेको छ ।
गत सोमबार बिहान विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर बुद्ध एयरको ९–एनएएनआई एटीआर जहाज काठमाडौं फर्किएको थियो । जहाजको चक्का (ल्यान्डिङ गियर) तल नझरेको र तीनवटा हरियो बत्ती नबलेपछि पाइलटले विराटनगर विमानस्थलमा विमान अवतरण नगरी काठमाडौं फर्काइएका थिए । नेपाल समाचारपत्रबाट