काठमाडौं, साउन ४ : बालकलाई होटेलमा बोलाएर यौन दुराचार गरेको आरोपमा एक वृद्ध विदेशी नागरिक पक्राउ परेका छन् । विभिन्न व्यक्तिलाई फेसबुकबाट साथी बनाउँदै अप्राकृतिक यौन दुराचार गरेको आरोपमा ६६ वर्षीय स्विस नागरिक पिटर क्रिश्चियन ल्यागेनड्रोफ पक्राउ परेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार उनले १६ वर्षीया किशोरहरुलाई म्यासेन्जरबाट साथी बनाएर होटेलमा बोलाउँदै अप्राकृतिक यौन सम्बन्ध राख्ने गरेका थिए ।
प्रहरीका अनुसार पिटरले उक्त बालकलाई काठमाडौं र भक्तपुरका विभिन्न होटेलमा समेत पुऱ्याएर यौन दुराचार गरेका थिए । उनलाई प्रहरीले बिहीबार पक्राउ गरी जबरजस्तीकरणी महल बमोजिम कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा पठाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पिटरले यौन दुराचारको आरोप स्वीकार गरेका छन् । भक्तपुर दरबार स्क्वायरमा रहेको वेलकम हेरिटेज ईन नामक होटेलमा समेत लगानी गरेका पिटरले रसुवाको लाङटाङमा शिक्षासम्बन्धी काम गर्ने परियोजना चलाइरहेका थिए ।
पिटरलाई मुलुकी ऐन जबरजस्तीकरणी महलको दफा ३ अनुसार कारबाही चलाइएको महाशाखाले जनाएको छ । मुलुकी ऐन जर्बजस्ती करणी महलको दफा ३ अनुसार सोह्र वर्ष भन्दा कम उमेरकालाई करणी गरेमा ६ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।