पर्यटन क्षेत्र चलायमान बनाउनुको विकल्प छैन

रिपोर्ट नेपाल | 2021 Sep 28 | 08:20 am 1477

काठमाडाैं, असाेज १२ः विगत डेढ वर्षदेखि खुम्चिएको पर्यटनलाई चलायमान बनाउनुको विकल्प नभएको पर्यटन मन्त्रालयले बताएको छ । सोमबार ४२ औं विश्व पर्यटन दिवस मनाउने क्रममा नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोभिड महामारीले गर्दा विगत डेढ वर्षदेखि बन्दाबन्दीमा खुम्चिएको पर्यटनलाई सुरक्षाका उपायहरु अपनाउँदै चलायमान बनाउनुको विकल्प नभएको बताए । उनले पर्यटन खुला गर्ने गरी नयाँ मापदण्ड आएकोले त्यसको अनुशरण गर्दै पर्यटन आगमन बढाउन व्यवसायीलाई आग्रह गरे ।

पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाहरुको सहकार्यमा पर्यटन दिवस मनाइएको हो । पर्यटन बोर्डले साइकल -याली, वृक्षरोपण तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो । उक्त अवसरमा बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिड महामारी र त्यसबाट सिर्जित बन्दाबन्दीले पर्यटन व्यवसायमा ठूलो असर परेको उल्लेख गर्दै राज्यले समेत यसको प्रवद्र्धनमा विशेष चासो दिनुपर्ने उल्लेख गरे । महामारीबाट प्रत्यक्ष–अप्रत्यक्ष गरी करिब १० लाख जनशक्तिको रोजगारी संकटमा परेको बताउँदै उनले पर्यटन क्षेत्रको जनशक्तिलाई अल्पकालीन रोजगारीको लागि बोर्डले यूएनडीपीसँगको सहकार्यमा कार्यक्रम शुरु गरेको जानकारी दिए ।

बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले नेपाल सरकारबाट निजी क्षेत्रको सहकार्यमा पर्यटनका लागि नयाँ सुरक्षा प्रोटोकल सार्वजनिक भइसकेकोेले त्यसका आधारमा विस्तारै पर्यटनलाई चलायमान बनाउँदै लैजानुपर्ने धारणा बताए । रेग्मीले भने,“पर्यटन उद्योगलाई पुरानै लयमा फर्काउन समय लाग्ने भएपनि सरकार र निजी क्षेत्र मिलेर काम गर्दा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सकारात्मक उर्जा मिल्ने छ ।”
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले कोभिडका कारण विगतका वर्षहरुमा धेरै काम गर्न नसकिएको बताउँदै पर्यटनमा उत्कृष्ट योगदान गर्ने संस्था तथा व्यक्तिलाई यो वर्ष सम्मान गरिएको बताए । कार्यक्रमअघि बिहान बोर्डबाट इलेक्ट्रिक साइकल -याली आयोजना निकालिएको थियो । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.