विपीको सिद्धान्त अनुसार चल्न नसक्दा कांग्रेस यो अवस्थामा पुग्यो : नेता पोखरेल

| 2018 Jul 20 | 04:16 pm 3537

  • कपिल ज्ञवाली

बुटवल, असार ४ :  प्रदेशसभा ५ का सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले विपीको सिद्धान्त अनुसार कांग्रेस चल्न नसकेको बताएका छन् । विपी स्मृति दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब प्रदेश ५ ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अहिलेका नेताले आफू नै बोलेको ठिक भन्ने तर अरूको कुनै बिचार नै नलिने,नसुन्ने गर्छन् त्यो गलत हो’ । विपीका सहयात्री समेत रहेका पोखरेलले भने, विपीले पहिलो देश, दोस्रो प्रजातन्त्र र तेस्रो कांग्रेसलाई महत्त्व दिनुहुन्थ्यो ,म मरेर केही हुन्न देश रहनुपर्‍यो भन्नुहुन्थ्यो । ,यस्तो भावना अहिले कुनै नेतामा छ ? ‘ उनले प्रश्न गरे ।

विपीको राष्ट्रिय मेलमिलापको सिद्धान्त सान्दर्भिक रहेको उनको भनाइ छ । भारतमा रहँदा विपी र पुष्पलालको दैनिक भेट हुने गरेको आफूले नै देखेको बताए ।  ‘आर्थिक नीति तिम्रो ,प्रजातान्त्रिक राजनीति मेरो भनेर विपीले पुष्पलाललार्इ सम्झाउनुहुन्थ्यो ,अहिले विपीलाई लान्छन् लगाउनु गलत हो ।’ पोखरेलले सुनाए ।

विपीको देहान्त हुँदा निकै दुखद क्षण रहेको बताउँदै पोखरेलले विपीसँगै भारतमा बस्ने क्षण सबैभन्दा रमाइलो लागेको बताए । प्रदेशसभा ५ सदस्य भोजप्रसाद श्रेष्ठले विपीलाई एक कुशल राष्ट्रभक्त नेताको रूपमा चिन्नुपर्ने भन्दै उनले इतिहास साक्षी रहेको प्रष्ट पारे । राष्ट्र एकताको लागि उनीबाट पाठ सिक्नुपर्ने बताए ।

तत्कालित काँग्रेस राजासँग र राणा दिल्लीसँग नजिक हुँदा मोहन संशेर पुन राजा बनेको उनले स्मरण गरे । ‘समाजवादी धारको काँग्रेस किन कमजोर भयो ,अहिलेको परिवर्तन विपीको सपना पनि हो’ श्रेष्ठले भने । काँग्रेस यसबाट विचलन भएको छ,अहिलेको सत्तापक्षले पनि विपीको राष्ट्रियता र प्रजातन्त्रको रक्षा गर्न सिक्नुपर्ने बताए । सङ्घीयता बलियो बनाउन राष्ट्रवाद सबै एकजुट बन्नुपर्ने उनको धारणा छ ।

बुटवल बहुमुखी क्याम्पसका सह-प्राध्यापक डा. सुरेन्द्र गिरिले वामपन्थीले गहन अध्ययनबिना विपीलाई देश बेच्यो भनेर आरोप लगाएको स्मरण गर्दैै उनले २०३३ सालमा विपीले मेलमिलापको नारा लिएर देश आएको बताए ।  राष्ट्रियता,समाजवादमा उनको ठुलो योगदान छ । लागु गर्न नसक्दा काँग्रेस पछि परेको हो ।विपीका सिद्धान्त अहिलेको सरकारले पनि लागु गरेमा राम्रो हुने बताए ।

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले आफूलाई पहिले वामपन्थी भएकाले विपीको बारेमा स्कुलीङ नै तितो शब्दमा गरिएको बताए । उनले आफूलाई विपी विदेशी दलाल भनेर पढाइएपनि २०३६ सालमा प्रत्यक्ष भेट्दा उनी राष्ट्रवाद भएको पाएको बताए ।  उनको सिद्धान्त अहिलेपनि सान्दर्भिक रहेको उल्लेख गर्दै पढेको र व्यवहार निकै फरक पाएको उल्लेख गरे ।

उनले राष्ट्रवाद विपी पछिसम्म बाँचेको भए देशको मुहार फेरिने बताए । तर उनको समाजवादको रूप विकसित हुन नसकेको गुनासो गरे ।
विपी निकै सरल र विशाल रूप भएकोले उनका बिचार सबैले अंगिकार गर्नुपर्ने धारणा राखे । सिद्धार्थ गौतमबुद्ध क्याम्पसका क्याम्पस प्रमुख बाबुराम पाण्डेले विपी अन्तरनिहित पात्र हुन् । उनी दल विशेषका नेता मात्रै नभएको बताए । उनी महामानब हुन् ।

‘जनताको अधिकार स्थापित गर्ने एकमात्र महामानव विपी नै थिए ,नेपालको राजनीतिको मियो नै उनी हुन् । ’ समाजवाद उन्मुख राज्य प्रणाली निर्माणमा संविधान र राज्यले गरेको भूमिका विपी कै देन भएको प्रष्ट पारे । अहिलेको सरकारले व्यवहारमा समाजवादको बाटो बिराएको बताए । उनले विपीको वैचारिक,साहित्यिक हिसाबले अद्धितिय योगदान रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.