काठमाडौं, साउन ४ : एक किलो नक्कली सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरले नक्कली एक केजी सुनको विस्कुट , वेरूवा औठी र सिक्रीको बिल देखाई बिक्री गर्न हिडिरहेकालाई विशेष सूचनाका आधारमा बिहिबार चुच्चेपाटीबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौको जोरपाटी बस्ने २३ बर्षीका राज लामा तामाङ, नुवाकोट घर भई हाल जोरपाटी बस्ने २६ वर्षका म्लाङसिंह लामा र सोलुखुम्बु घर भई हाल कपन बस्ने टासी लाक्पा शेर्पा छन् ।
प्रहरीले उनीहरुको साथबाट एक किलो नक्कली सुनको विस्कुट, बेरूवा औठी र एक थान नक्कली सुनको सिक्री बरामद गरेको छ। उनीहरुले चावहिल, कोटेश्वर र कपन इलाकामा नक्कली सुनको कारोबार गर्ने गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका मध्ये राज लामा यसअघि नै ठगी मुद्दा चलेका व्यक्ति हुन भने, टासी लाक्पा शेर्पा २०५८ सालमा आफ्नै फुपुको हत्या गरी कर्तब्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्।