जंगली जनावरलाई राखेको विद्युतीय पासोमा परी एकै घरका ३ जनाको मृत्यु

| 2021 Sep 18 | 08:26 am 1473

बर्दिया, असाेज २ः धानखेतमा जंगली जनावरलाई राखेको विद्युतीय पासोमा परी एकै घरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-३ गोदाना गाउँका ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती रहेकी छन् ।

छिमेकीले जंगली बँदेल र हात्ती धपाउन राखेको विद्युतीय पासोमा परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको हो ।

धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाही (क)लाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिले जनाएको छ ।

धानबालीमा जङ्गली हात्ती, बँदेल लगायतका वन्यजन्तुले क्षति पुर्याउन थालेको भन्दै करेन्ट प्रवाह गर्दा यसअघि करेन्ट लागेर दुई वटा हात्ती र एक जना युवाको ज्यान गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.