प्रधानसेनापतिद्वारा वीरगती प्राप्त सकलदर्जाका एकल महिलाहरुसँग भेटघाट

रिपोर्ट नेपाल | 2021 Sep 17 | 09:21 pm 1553

काठमाडाैं, असाेज १ः शुक्रबार प्रधान सेनापति महारथी प्रभुराम शर्माले बिगत द्वन्द तथा कर्तव्यपालनाको दौरान वीरगती प्राप्त गरेका सकलदर्जाका एकल महिलाहरुसँग जंगी अड्‍डामा भेटघाट गरेका छन् ।

नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, सैनिक श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा महारथी शर्माले सिमित श्रोतबाट ९ लाख ५० हजार भन्दा बढी हिताधिकारीहरुको जायज अपेक्षालाई पुरा गर्न आफु सदैव प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्दै सहभागीहरुलाई कल्याणकारी योजना अन्तर्गत तथा सैनिक श्रीमती संघबाट संचालन हुने व्यवसायिक तथा शिपमुलक तालिमहरुबाट लाभ लिंदै महिला उद्यमशिल कर्जा सुविधाको उपभोग गरी स्वरोजगार र आत्मनिर्भर हुन आग्रह गरेका थिए ।

महारथी शर्माले मिति २०७८ भदाै २५ गते पदवहाली पश्‍चात सकलदर्जालाई गर्नु भएको पहिलो सम्बोधनका क्रममा वीरगती प्राप्त गर्नेहरूका परिवार, एकल महिला, घाइते तथा फरक क्षमता भएका हिताधिकारीलाई प्राथमिकतामा राखी विविध अवसर र सेवासुविधाको सीमालाई क्रमिक रूपमा बढाउँदै लगिने बताएका थिए ।

सोही अनुरुप उक्त समूहमा रहेका ८ सय जना एकल महिलाहरुलाई नेपाली सेनाले पारिवारीक निवृत्तिभरणको रुपमा वीरगतीतर्फ मासिक ३ हजार र कर्तव्य पालनातर्फ मासिक २ हजार प्रदान गरिरहेकोमा यही २०७८ असाेज महिनाबाट मासिक ५ सय थप गरि वीरगतीतर्फ मासिक ३ हजार ५ सय र कर्तव्य पालनातर्फ मासिक २ हजार ५ सय प्रदान गर्ने व्यवस्था भइसकेको व्यहोरा समेत जानकारी गराइकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.