झापाका पत्रकार खनालको दुर्घटनामा परी ज्यान गयो

रिपोर्ट नेपाल | 2018 Jul 20 | 12:00 pm 2017

भद्रपुर, साउन ४: झापाका पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ। नयाँ कामना साप्ताहिकका प्रधानसम्पादक एवं नेपाल पत्रकार संघका पूर्व अध्यक्ष खनाल ७१ वर्षको थिए।

बिहीबार दिउँसो ३:३० बजे सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा गएराति खनालको निधन भएको उहाँका भतिजा भानुभक्त खनालले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–२ रामचोकमा साइकलमा यात्रारत उनलाई मे१ज ६५८ नंको जीपले पछाडिबाट ठाक्कर दिएको थियो। ठक्कर दिने जीपका चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

मृतकको शवलाई कनकाई नदीमा आजै दिउँसो अन्त्येष्टि गरिने भएको छ ।

विसं २००४ पुस २९ गते तेह्रथुम जिल्लाको खाम्लालुङ गाविस वडा नं ९ सामथाङमा जन्मिएका खनालको बिर्तामोड–४ बसोबास थियो ।

उनले लामो समयसम्म नयाँ कामना साप्ताहिक पत्रकारको प्रधानसम्पादक भएर पत्रिका प्रकाशन गरे भने मेरो अमेरिका यात्रा र बेलाबेलाको बोली नामक दुई वटा कृति प्रकाशित गरेका थिए। उनका एक श्रीमती र दुई छोरा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.