बाँके, भदाै ३१ः राप्तीसोनारी गाउँपालिकाले कोभिड–१९ (कोरोना भाइरस) बाट मृत्यु हुनेका परिवारलाई एक लाख रूपैयाँ दरले राहत वितरण गरेको छ। गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष लाहुराम थारू र उपाध्यक्ष धनीकुमारी खत्रीले संयुक्त रूपमा उनीलाई राहत वितरण गरेका हुन्।
यसभन्दा अघि गाउँपालिकाले कोरोना भाइरसबाट संक्रमित भएका परिवारलाई राहतस्वरूप एक लाख रूपैयाँ दिने निर्णय गरेको थियो। गाउँपालिकाको निर्णयअनुसार मृतकका परिवारलाई प्रतिपरिवार एक लाख रूपैयाँ सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष थारूले जानकारी दिए। राप्तीसोनारीमा कोरोना भाइरसबाट मृत्यु भएका २३ परिवारलाई राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
कोरोनाबाट पति गुमाएकी टीका खत्रीले गाउँपालिकाले अभिभावकत्व निर्वाह गरेको बताइन्। ‘कमाउने मान्छेको मृत्युपछि मेरो परिवारमा समस्या भएको थियो,’ उनले भनिन्, ‘गाउँपालिकाले दिएको राहतले ठूलो समस्या टरेको छ।’ उनीजस्तै राहत पाएका परिवारले गाउँपालिकाप्रति धन्यवाद व्यक्त गरेका छन्।
यसअघि कोरोनाबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्चस्वरूप २५ हजार रूपैयाँ दिएको उनले बताइन्। कोरोनाबाट संक्रमित बिरामी भएकाहरूको पहिचान तथा उपचार गरी समाधान गर्ने प्राथमिकता दिएको गाउँपालिकाले प्रत्येक नागरिकको शीघ्र परीक्षण, छिटो उद्धार, उपचारदेखि कोभिडबाट बच्न संक्रमितलाई प्रोत्साहन र मृतक परिवारलाई राहतलगायत कार्यक्रम सुरु गरेको हो।
‘संक्रमित भएपछि रोग प्रतिरोधात्मक क्षमता घट्ने र शारीरिक कमजोरी बिरामीमा हुने भएकाले तन्दुरुस्ती बढाउन पौष्टिक आहार आवश्यक हुन्छ,’ अध्यक्ष थारूले भने, ‘हाम्रो गाउँपालिका क्षेत्रभित्रका दूरदराजका बस्ती पनि छन्।
सबैको आर्थिक अवस्था मजबुत नहुने भएकाले हामीले राहत रकम दिएका हौं।’ कोरोना महामारीको रोकथामका लागि लागू भएको निषेधाज्ञासँगै व्यापक रूपमा परीक्षण र त्यसपछि पहिचान भएका संक्रमितको उपचार नै पहिलो प्राथमिकता रहनुपर्ने कार्यमा गाउँपालिकाले जोड दिएको थियो। नागरिक दैनिकबाट