सवारी एसेम्बलिङ उद्योगमा ५० प्रतिशत छूट

रिपोर्ट नेपाल | 2021 Sep 12 | 07:50 am 1553

काठमाडौं, भदौं २७ः सरकारले नेपालमै सवारी एसेम्बलिङ गर्ने उद्योगलाई ठूलो छूट दिने निर्णय गरेको छ । शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन बजेटको आर्थिक ऐनमार्फत नेपालमै सवारी एसेम्बल गर्ने उद्योगलाई अन्तरशुल्क ५० प्रतिशतसम्म छूट दिने निर्णय भएको हो ।

यसअघि यस्ता उद्योगलाई अन्तःशुल्कमा २५ प्रतिशत छूट दिने गरिएको थियो । नेपालमै मोटरसाइकल एसेम्बलिङ गरिरहेको हंसराज हुलासचन्द एन्ड कम्पनी र शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले विशेष छूट पाएका छन् । नेपालमा थप एसेम्बिलिङ उद्योग खोल्ने वातावरण बनेको छ । हाल नेपालमा हंसराजले बजाज र जगदम्बाले टीभीएसका मोटरसाइकल एसेम्बलिङ गरिरहेको छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले नयाँ व्यवस्थाले सकारात्मक प्रभाव पार्ने बताए । ‘ठूलो लगानी गरेर जोखिम मोलेर उत्पादन गरिरहेका थियौं तर खतरा त्यति नै थियो,’ उनले भने, ‘नयाँ व्यवस्थाले सहजीकरण गरेको छ ।’ उनले नयाँ व्यवस्थासँगै अबको केही समयमै नेपालमै उत्पादन भएका टीभीएसको मोटरसाइकलमा ग्राहकले केही सस्तो मूल्यमा पाउने वातावरण बनेको बताए । ‘ग्राहकले मूल्यमा पनि केही सहुलियत पाउने छन्,’ उनले भने ।

अटोमोबाइल व्यवसायीको छाता संगठन नेपाल अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले उद्योगमा दिएको छूटले नेपालमा थप उद्योग खुल्ने वातावरण बनेको बताए । ‘यसले देशभर एकदमै सकारात्मक लहर ल्याउँछ,’ उनले भने, ‘सबै ब्रान्डका एसेम्बलिङ उद्योग खुल्छन् ।’ प्रभावकारी रूपमा कार्यान्वयन भएमा एसेम्बलिङ उद्योगसँगै पाटायर उद्योग पनि खुल्ने भएकाले यसले औद्योगिक लहर ल्याउने उनको विश्वास छ । आर्थिक अभियान दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.