शिक्षा दिवस कहिले मनाउने ?

रिपोर्ट नेपाल | 2021 Sep 08 | 08:00 am 3413

काठमाडौं, भदाै २३ः शिक्षा मन्त्रालयले शिक्षा दिवसको मिति तय गरी मन्त्रिपरिषद्मा पठाएको ६ महिना बितिसक्दा पनि सरकारले शिक्षा दिवस मनाउने विषयमा निर्णय गर्न सकेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको कार्यकालमा शिक्षाको पहिलो कानुन (इस्तिहार) जारी भएको दिन माघ ८ गते शिक्षा दिवस मनाउने प्रस्ताब मन्त्रिपरिषद्मा पठाइएको थियो । गत फागुन ८ गते मन्त्रिपरिषद्मा पेस भएको उक्त प्रस्ताब अझसम्म थन्किएको छ ।

विसं २०६२/०६३ को जनआन्दोलनपछि आज बुधबार अर्थात् सेप्टेम्बर ८ तारिखको दिन राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस मनाउने गरिएको थियो । तर, गत वर्षदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा र साक्षरता दिवस एकैदिन मनाउन नहुने भन्दै राष्ट्रिय शिक्षा दिवस मनाउन छाडेपछि शिक्षा दिवस मनाउने विषयमा अन्योलता सिर्जना भएको हो ।

शिक्षा दिवस मनाउने विषयमा अन्योल सिर्जना भएलगत्तै शिक्षाको इतिहास सम्झना हुने विभिन्न मिति प्रस्ताव भएकोमा पहिलो इस्तिहार जारी भएको दिनलाई शिक्षा दिवस मनाउन मन्त्रीस्तरीय प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको थियो ।

मन्त्रालयमा भएको छलफलमा दरबार हाइस्कुल स्थापना भएको दिन, त्रिचन्द्र कलेज स्थापना भएको मिति, पहिलो संस्कृत विद्यालय स्थापना भएको दिन, पहिलो राष्ट्रिय शिक्षा नीति जारी भएको दिनलाई राष्ट्रिय शिक्षा दिवस मनाउने विषयमा छलफल भएको थियो । सबै सरोकारवालासँग भएको छलफलपछि पहिलो शिक्षाको कानुन (इस्तिहार) जारी भएको दिनलाई शिक्षा दिवस मनाउने मन्त्रीस्तरीय निर्णय भएको थियो ।

शिक्षा दिवसको मिति तय हुन नसक्दा गएको वर्षदेखि विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई विवरण गरिने नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक र पुरस्कार वितरण समारोहसमेत रोकिएको छ । सबै पुरस्कार र पदक राष्ट्रपतिले वितरण गर्ने परम्परा थियो । सोही दिन मन्त्रालयले उत्कृष्ट विद्यालयलाई नगदसहित शिल्ड, सम्मान, कदरपत्र प्रदान गर्र्नेे गरेको थियो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले राष्ट्रिय शिक्षा दिवसको मिति तय नभएका कारण पदक वितरण गर्ने विषयमा कुनै निर्णय नभएको जानकारी दिए ।

बिसं २०७७ साल साउन २६ गते मन्त्रिपरिषद्को बैठकले ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका–२०७७’ जारी गरिसकेको छ । तथापि शिक्षा दिवस मनाउने मिति तय नहुँदा अन्योलमा परेको मन्त्रालयको भनाइ छ ।

तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेक भएको वर्ष अर्थात् २०३१ सालबाट फागुन १२ गते शिक्षा दिवस मनाउने प्रचलन शुरु भएको हो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.