महोत्तरी, भदाै २०ः जिल्लाको सम्सी गाउँपालिका ६ चाँदनी चोकबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बिदुर नगरपालिका ७ बस्ने ३० बर्षीय संजय भट्ट र गोरखा जिल्लाको बुढिगंगा गाउँपालिका ३ बस्ने २३ बर्षीय अजय परियार छन् ।
प्रदेश ०२(०२२ प ३४७२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट २ हजार ३ सय ७० वटा, प्रोमेथाजिन ईन्जेक्सन १ सय २१ वटा, फिन्ज ईन्जेक्सन १ सय १८ वटा, डाईजाल्याप ७१ वटा र डाईजापाम ४६ वटा फेला पारेको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाईएको छ ।
चोरीपैठारीको मोबाईल सेटसहित एक पक्राउ
रौतहट जिल्लाको गौर नगरपालिका २ भन्सार ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान मोबाईल सेटसहित सोही ठाउँ बस्ने २८ बर्षीय संजय कुमार यादवलाई पक्राउ गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोटवाईल सेटसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका यादवलाई बरामद मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
नदीमा डुवेर बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीद्वारा फेला
कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका ९ नौखरीस्थित सुनबरा नदिमा बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीले आईतबार फेला पारेको छ ।
सोही ठाउँ बस्ने १२ वर्षीय दिलिप सुनार उक्त नदिमा नुहाउने क्रममा बेपत्ता भएको बताईएको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव घटनास्थल नजिकै पानीमा डुवेको अवस्थामा फेला पारेको हो ।