तोकिएको समयमा नै पोखरा विमानस्थल बनाउन प्रधानमन्त्रीको निर्देशन

रिपोर्ट नेपाल | 2018 Jul 19 | 07:12 pm 1526

कास्की, साउन ३: प्रदेश न. ४ को प्रदेश सभालाई सम्बोधन गर्न आज बिहिबार पोखरा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

पोखरामा निर्माणधिन अन्तराष्ट्रि विमान स्थलको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले पोखरा विमानस्थलको आफ्नै महत्व भएकोले जसरी भए पनि तोकिएको समयमा पूरा गर्नुपर्ने बताए ।

प्रम आलीले निर्माण कम्पनीले ढीलाइ गर्ने रोग भएकोले यो विमान स्थल निर्माणमा कुनै पनि बहानामा ढिलाइ गर्न पाइँदैन र मिल्दैन भन्दै सम्बन्धीत पक्षलाई प्रष्ट निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीले विमानस्थलका लागि थप जग्गा आवश्यक पर्ने भए अधिग्रहण गर्नसमेत सम्बद्ध निकायलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीले थप जग्गा आवश्यक भए अधिग्रहण गर्नुस् गुणस्तरीय काम गर्नुस् तर तोकिएको समयमा विमानस्थल निर्माण सम्पन्न कुनै हालतमा हुनुपर्ने कुरामा जोड दिए ।

विकास निर्माणका आयोजनाको अनुगमन गर्ने निकायको समेत अनुगमन गर्ने घोषणा यसअघि नै गरेका प्रम ओलीले काममा ढिलासुस्ती गर्ने, बहाना निकालेर बस्ने तथा कमजोरी गरेर दोष दिने प्रवृत्तिको समेत अन्त्य गर्न आग्रह गरेका थिए ।

हालसम्मको कार्यसम्पादनमा सन्तोष व्यक्त गर्दै विमानस्थलको निर्माणमा प्रदेश सरकार, स्थानीय जनता, पोखरा महानगरपालिका, कार्यरत कर्मचारीसमेतको भूमिकाको प्रम ओलीले प्रशंसा गरेका थिए ।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु यान कम्पनीले महत्व दिई सेवा सञ्चालनमा चासो राखेको भन्दै उनले आज पोखरामा आयोजित कार्यक्रममा सोहीअनुसारको सेवा तथा सुविधाको प्रबन्ध गर्नसमेत निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले ‘ह्याङ्गर’, व्यवस्थित कार्यालय उपकरणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया तत्काल अघि बढाउनसमेत सम्बद्ध अधिकारीलाई निर्देशन दिए ।

प्रधानमन्त्रीले पोखरा पर्यटकीय दृष्टिकोणले नेपालको अत्यन्त महत्वपूर्ण स्थान भएको हुँदा विमानस्थलको निर्माणसँगै नेपालको पर्यटकीय गतिविधिमा विस्तार तथा यसबाट आर्थिक वृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

समृद्ध नेपाल सुखी नेपाली’ संकल्पको सफलताका लागि योगदान पुर्याउन पनि ठूला भौतिक पूर्वाधारको विकास महत्वपूर्ण एवं जरुरी रहेको स्पष्ट पार्दै राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई वर्तमान सरकारले दण्डित गर्ने बताएका थिए ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले विमानस्थल निर्माणसँगै वृद्धि हुने आर्थिक क्रियाकलापसमेतका लागि अन्य मन्त्रालयले पनि पहुँचमार्ग स्तारोन्नति, बस्ती विकासलगायत कार्य अघि बढाउनुपर्ने उल्लेख गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतको उपस्थिति रहेको थियो ।

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले पर्यटन क्षेत्रमा विमानस्थलको महत्व, पोखरामा यसको आवश्यकता, सरकारको प्राथमिकता, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि भौतिक पूर्वाधारको विकासमा जोड दिइएको धारणा राखेका थिए ।

सो विमानस्थलको हाल १५ प्रतिशत निर्माण कार्य सकिएको छ । पोखरामा आज आयोजित कार्यक्रममा उक्त विमानस्थलको हालसम्मको कार्य प्रगतिको प्रस्तुति गरिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय गौरवको आयोजनाका निर्देशक प्रदीप अधिकारीका अनुसार हालसम्म आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।

सन् २०१९ को अन्त्यसम्ममा ५५ प्रतिशत भौतिक प्रगति हुनेछ । यस्तै सन् २०२० को अन्त्यसम्ममा ८५ प्रगति हुने र सन् २०२१ को जुनसम्म सम्पूर्ण भौतिक तथा अन्य कार्य सम्पन्न हुने गरी कार्ययोजना तयार गरिएको सो अवसरमा जानकारी दिइएको थियो । निर्माण कार्य सम्पन्न गरी सन् २०२१ अर्थात् आगामी तीन वर्षदेखि हवाई सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

सो विमानस्थलको लागत करीब २२ अर्ब रहेको छ । सरकारले सो विमानस्थललाई पर्यटन केन्द्रित गरी ‘बुटिक विमानस्थल’ बनाउने बताउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.