संविधान र लोकतन्त्रको रक्षाका लागि सभापति देउवा प्रधानमन्त्री बनेका हुन्ः नेता तिमिल्सिना

| 2021 Sep 03 | 12:45 pm 1613

बर्दिया, भदाै १८ः नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले लोकतन्त्रलाई समाप्त पार्न खोजेपछि संविधान र लोकतन्त्रको रक्षाका लागि सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको बताएका छन् ।

गृहजिल्ला बर्दियाको राजापुर नगरपालिका– ४ र ७ तथा गेरुवा गाउँपालिका– ४ मा आयोजित क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै युवा नेता तिमिल्सिनाले पार्टी सभापति शेरबहादुर देउवा बाध्यात्मक परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्री बनेको बताए ।

उनले अहिलेको कठिन र चुनौतीपूर्ण अवस्थामा कांग्रेसको नेतृत्वमा बनेको सरकारलाई अवसर र चुनौती दुबै रहेको बताए । नेता तिमिल्सिनाले कम्युनिस्टकै नेताहरू आएर सभापति देउवालाई प्रधानमन्त्री बनिदिनु पर्‍यो भनेपछि प्रधानमन्त्री बनेको प्रङ्ग उल्लेख गरे ।

कांग्रेसका कारणले भन्दा पनि दुईतिहाइको कम्युनिस्ट सरकारको आफ्नै कारणले साढे तीन वर्षमा ढलेको उनले बताए । कम्युनिस्टहरू साढे तीन वर्षमा किन आफै अफल भएर ढले भनेर कांग्रेस नेतृत्व र एमाले–माओवादीलाई भोट दिएका मतदाताहरूले विशेष ध्यान दिनुपर्ने बताए ।
कांग्रेस नेतृत्वको सरकारले संविधानको रक्षा गर्ने र मुलुकलाई क्रमशः विकास र समृद्धिको बाटोमा लैजाने बताएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनले गाउँ, वडादेखि नै युवा र असल नेतृत्व आउने बताएका विभागका केन्द्रीय सदस्य तिमिल्सिनाले महाधिवेशनलाई मेलमिलाप र आपसी सद्भावका रुपमा अगाडि बढाउनुपर्ने बताए ।

उनले सबै मतभेदहरू भुलेर सकिन्छ भने सहमति र सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट प्रतिनिधि र नेतृत्व आउनुपर्ने बताएका छन् ।

१४औँ महाधिवेशनबाट आउने कांग्रेसको नेतृत्वले स्थानीय, प्रदेश र प्रतिनिधि सभामा बहुमत ल्याउने गरेर काम गर्ने तिमिल्सिनाले बताएका छन् ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा.गोपाल दहित, बर्दियाका पूर्व सभापति अरुणप्रसाद सिंह राठौर, दीपकजंग शाह, रमण रेग्मीलगायतका क्रियाशील सदस्यहरूको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.