मोटरसाइकललाई खोला तार्न साढे तीन हजारसम्म शुल्क

रिपोर्ट नेपाल | 2021 Sep 03 | 08:27 am 1977

खोटाङ, भदौं १८ः खोटाङको दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल समयमा सम्पन्न नहुँदा उदयपुरको राँकुलीखोलामा शुल्क तिरेर मोटरसाइकल तार्नुपर्ने बाध्यता छ ।

सगरमाथा राजमार्गअन्तर्गत पर्ने उक्त दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापरवाहीले सम्पन्न नहुँदा जिल्लाबाट पूर्वी तराईका विभिन्न जिल्ला आवतजावत गर्न प्रयोग गरिने मोटरसाइकल उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने राँकुलीखोलामा शुल्क तिरेर तार्नुपर्ने बाध्य बनेको हो ।

राँकुलीखोलामा हिउँदको समयमा पानी सुके पनि वर्षातको समयमा भने भलबाढी उर्लिने गरेका कारण मोटरसाइकल तार्ने क्रममा स्थानीय युवालाई शुल्क तिर्नुपर्ने बाध्यता रहेको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका वडाध्यक्ष किरण राईले बताए । खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिकालगायत जिल्ला अधिकांश स्थानीय तहका स्थानीय बासिन्दालाई वर्षाको समयमा उदयपुर हुँदै पूर्वी तराईका विभिन्न सहर आवतजावत गर्दा राँकुलीखोला तर्नुपर्ने हुन्छ ।

राँकुलीखोलामा वर्षाको समयमा मोटरसाइकल तार्दा प्रतिगोटा न्यूनतम ५०० देखि तीन हजार ५०० सम्म शुल्क तिर्नुपर्ने बाध्यता रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका बासिन्दा मिलनचन्द्र राईले बर्ता । फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल समयमा निर्माण सम्पन्न नहुँदा रसुवाघाटको झोलुङ्गे पुल तरेर राँकुलीखोला हुँदै उदयपुरको गाईघाट पुग्नुपर्ने जिल्लावासीको बाध्यता छ ।

निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीको ढिलासुस्तीका कारण दोस्रो पटक थप भएको समय सकिँदा समेत फोक्सिङटारस्थित सुनकोशी नदीस्थित निर्माणाधीन पक्की पुलको भौतिक प्रगति करिब ४८ प्रतिशत मात्र पूरा भएको जनाइएको छ । सो निर्माणाधीन पक्की पुल बनिनसकेसम्म जिल्लावासी राकुँलीखोलामा मोटरसाइकल तार्नका लागि शुल्क तिर्न बाध्य हुने खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका वडाध्यक्ष शिव फुँयालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.