सरकारसँग छुट, उपभोक्तामाथि लुट

रिपोर्ट नेपाल | 2021 Sep 02 | 07:40 am 2273

काठमाडौं /भैरहवा, भदाै १७: नेपालमै सवारी साधनको एसेम्बल गर्ने उद्योगलाई सरकारले प्रोत्साहन स्वरूप अन्तःशुल्कमा २५ प्रतिशत छुट दिन्छ। स्वदेशमा उद्योग धन्दा बढ्नु र सर्वसाधारणले पनि केही न केही सस्तोमा सवारी साधन पाउन भन्ने यसको ध्येय हो।

तर, त्यही नीतिअन्तर्गत सरकारबाट अन्तःशुल्क ‘छुट’ को सुविधा पाएको हुलास अटोक्य्राफ्टले झन् महँगोमा बजाज मोटरसाइकल बेचिरहेको छ। उद्योगले सरकारबाट ‘छुट’ पाएको छ, उपभोक्ता भने झन् लुटिएका छन्। प्रख्यात व्यापारिक घराना गोल्छा अर्गनाइजेसनको उक्त कम्पनीले एउटै मोटरसाइकलमा सबै खर्च कटाएर ५० हजारदेखि १ लाख रुपैयाँभन्दा बढीसम्म सर्वसाधारणबाट ‘नाफा’ लिँदै आएको छ। यसरी बजाजले दुईतर्फी रूपमा सरकार र उपभोक्ताबाट अनावश्यक लाभ लिइरहेको छ।

मोटरसाइकल तयार गर्न लाग्ने सम्पूर्ण पार्ट पुर्जा टुक्राटुक्रा भएको अवस्था (कमप्लिट्ली नक्ड डाउन–सिकेडी) मा भारतबाट आयात गरी यो व्यापारिक घरानाले उक्त पार्टपुर्जा जोडेर मोटरसाइकल तयार गरी बिक्री गर्दै आएको छ।

यो व्यापारिक घरानाले बजाज पल्सर १५०, बजाज पल्सर १२५ नियोन, बजाज प्लाटिना १०० ई एस, बजाज पल्सर १५० टीडी, बजार एभेन्जर १६० स्ट्रिट एबीएस, बजाज पल्सर २२० एफ एबीएस र बजाज पल्सर १६० एनएस एबीएस मोडेलको पार्टपुर्जा ल्याएर मोटरसाइकल तयार गर्दै आएको छ। यस्तै बजाज डिस्कभर १२५ डिस्क, बजार डिस्कभर ड्रम, बजाज पल्सर २०० एनएस एफआई एबीएस, बजाज डिक्सभर १२५ एसटी, बजाज डोमिनार २५०, बजाज डोमिनार ४०० र बजाज एभेन्जर २२० क्रुज पनि नेपालमै उत्पादन गर्दै आएको छ। बजाज कम्पनीको विभिन्न मोडेल उत्पादन गर्दा गोल्छा समूहले कसरी ठगी गर्दै आएको छ, यो विषयमा ज्वलन्त उदाहरण हेरौंं। भन्सार कार्यालय भैरहवाबाट प्राप्त कागजातअनुसार १५० सीसीको एक थान बजाज पल्सरको सबै पार्टपुर्जा भारतबाट खरिद गरी भन्सारसम्म भित्र्याउँदा ९२ हजार ४ सय ५४ रुपैयाँ  (नेपाली) खर्च भएको छ।

यसमा ढुवानी र बिमा १२ प्रतिशत शुल्क पनि जोडिएको छ। अब यसमा भन्सार शुल्क ३० प्रतिशत लाग्नुपर्ने हो। तर, एलसीमा कारोबार गर्दा गोल्छा समूहसँग भन्सार कार्यालयले भन्सार शुल्क २८.५० प्रतिशतका दरले २६ हजार ३ सय ४० रुपैयाँ असुल गरेको छ। यसपछि यसमा भन्सार सेवा शुल्कबापत ५ सय र २५ प्रतिशत छुटसहित अन्तःशुल्कबापत ३५ हजार ६ सय ४१ रुपैयाँ असुल गरिएको छ। यस्तै यसमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) बापत २० हजार १ सय ४२ रुपैयाँ असुलिएको छ। यसरी भन्सारमा लाग्ने सम्पूर्ण शीर्षकगत राजस्व जोड्दा ८२ हजार ६ सय ३३ रुपैयाँ हुन आउँछ।

यसरी कुल भन्सार राजस्वसहित उक्त १५० सीसीको पल्सरको मूल्य भन्सार विन्दुमा १ लाख ७५ हजार ८८ रुपैयाँ कायम हुन्छ। आयात गरिएको पल्सरको सबै सामान जोडेर मोटरसाइकल तयार गरी गोल्छा अर्गनाइजेसनले उक्त १५० सीसीको बजाज पल्सरलाई उपभोक्ता मूल्य २ लाख ७४ हजार ९ सय रुपैयाँ तोकेको छ।

तयार भएको यो १५० सीसीको एक थान पल्सरको उपभोक्ता मूल्यअन्तर्गत गोल्छा समूहले सडक मर्मत दस्तुरबापत यातायात विभागलाई १५ हजार रुपैयाँ पहिले नै तिरिसकेको हुन्छ। यस्तै उपभोक्तालाई बिक्री गर्दा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर, मोटरसाइकल तयार पार्ने कामदारको खर्च र नाफासमेत जोडेर यो मूल्य कायम गरिएको हो। यसरी कायम गरिएको उपभोक्ता मूल्य २ लाख ७४ हजार ९ सय रुपैयाँबाट भन्सार विन्दुमा सबै खर्चसहित कायम भएको पल्सरको कुल मूल्य १ लाख ७५ हजार ८८ रुपैयाँ घटाउँदा ९९ हजार ८ सय १२ रुपैयाँ आउँछ। 

‘यसरी एक थान मोटरसाइकलमै अथाहा नाफा असुल्ने कम्पनीले सरकारबाट छुट लिएर आफू मोटाउँदै गएका छन् भने सरकार र उपभोक्तालाई सोझै लुटेका छन्,’ उपभोक्तावादी ज्योति बानियाँले भने, ‘स्वदेशी उद्योगको नाममा छुट लिएर लुट गर्दै आएको उद्योगलाई कानुनी दायरामा ल्याउनुपर्छ। मोटरसाइकलमा यतिसम्मको लुट धन्धा हुँदोरहेछ थाहा थिएन।’
पार्टपुर्जा जोडेर मोटरसाइकल उत्पादन गर्न गोल्छा समूहको हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडअन्तर्गत गत आर्थिक वर्ष २०७१।७२ मा उद्योग विभागमा हुलास अटो क्राफ्ट प्राइभेट लिमिटेड भनेर कम्पनी नै दर्ता गरेका थिए। पूर्ण स्वदेशी लगानी गर्ने प्रतिबद्धतासहित गोल्छा घरानाले यो कम्पनीले २४ करोड रुपैयाँ लगानी गरेको थियो। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.