खोपपछि एन्टिबडी जाँच गराउनु राम्रो

| 2021 Aug 31 | 07:16 am 2121

काठमाडौँ, भदौ १५ः कोरोना भाइरसविरुद्धको खोप लगाएको २०औँ दिनमा सङ्क्रमित भइन् लोकन्थलीकी सजिना डङ्गोल । खोप लगाउँदा उनीलाई कुनै पनि प्रभाव (साइड इफेक्ट) देखिएको थिएन । त्यसैले सङ्क्रमित भएको कुरा उनलाई भ्रम हो कि जस्तो पनि लाग्यो ।
डङ्गोल भन्छिन्, “खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण धेरैलाई देखियो तर मलाई यस्तो कुनै लक्षण देखिएन ।” एकान्तबास बस्दाको अवस्थामा उनलाई त्यति कठिन भएन तर सङ्क्रमित उनकी दिदीलाई भने सघन कक्षमा राखेर उपचार गर्नु पर्याे। चिकित्सकहरूले कोरोनाविरुद्धको खोप नलगाएका कारण गाह्रो भएको अनुमान गरेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार खोप लगाएपछि आफूमा केही लक्षण वा साइड इफेक्ट नदेखिएमा खोपले काम नै गर्दैन होला भनेर भ्रम पाल्नु हुँदैन । उनी भन्छन्, “कसैमा लक्षण देखिने, नदेखिने हुन्छ तर खोपले काम गर्छ । औषधिले काम गर्छ वा गर्दैन भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन्छ ।” कोभिडको खोप पाएको दुई हप्तापछि एन्टिबडी परीक्षण गराउँदा राम्रो हुने डा. पुनको सुझाव छ ।

उनी भन्छन्, “अहिले देखिएको कोरोना सङ्क्रमण धेरैजसो खोप नलगाएका व्यक्तिमा नै देखिइरहेको छ । खोप दिएमा त्यो अवस्थाबाट बचाउन सकिने डा. पुनको तर्क छ ।”

“खोपले काम गरेको छ वा छैन भन्ने थाहा पाउन एन्टिबडी परीक्षण गर्नुपर्छ”, उनले थपे, “कोभिडविरुद्धको खोप पाएपछि आफूमा रोग प्रतिरोधात्मक क्षमता विकसित भयो कि भएन भनेर एन्टिबडी परीक्षणले देखाउन सक्ने वैज्ञानिकले जनाएका छन् ।”

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक गौतमले खोपको साइड इफेक्ट र सुरक्षाबीच कुनै प्रत्यक्ष सम्बन्ध नहुने बताए । पूर्ण सुरक्षित हुन अनिवार्य रूपमा खोपको पहिलो र दोस्रो मात्रा पूरा गर्नुपर्ने उनले बताए। खोपको दोस्रो मात्रा लगाएको एक महिनापछि मात्र राम्रोसँग एन्टिबडी विकास हुन्छ भनेर विभिन्न अध्ययनले देखाएका छन् । खोप लगाएपछि शरीरले कस्तो प्रतिक्रिया देखाउँछ भन्ने कुराले पनि फरक पार्ने उनी बताउछन्। कोभिडविरुद्धको खोप लगाएका लाखौँ मानिसलाई विभिन्न प्रकारका लक्षण देखिएको जानकारी उनले दिए । डा. गौतमले भने, “धेरै मानिसमा खोप लगाएपछि कुनै पनि लक्षण नदेखिएका पनि छन् । त्यसको मतलब खोपले काम नगर्ने भन्ने हुँदैन ।”

“सामान्यतः फाइजर तथा मोडर्नाको दुई मात्रा खोप तथा जोन्सन खोपको एक मात्रा पाएको दुई हप्तामा शरीरमा एन्टिबडी बन्छ तर त्यति बेलासम्म पनि कोभिडको सङ्क्रमण हुने सम्भावना रहन्छ”, उनले प्रस्ट पारे। पछिल्लो तथ्याङ्कअनुसार हालसम्म विश्वमा ३१.२ प्रतिशत जनसङ्ख्याले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । तिनमा २३.५ प्रतिशतले पूर्ण रूपमा खोप लगाएका छन् । त्यसैगरी निम्न आय भएका देशहरूमा १.२ प्रतिशत मानिसले कम्तीमा एक डोजको खोप लगाइसकेका छन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.