उद्धार कार्यमा नेपाली सेना

| 2021 Aug 29 | 06:19 pm 3573

काठमाडाैं, भदाै १३ः बिगत ३ दिनदेखि परिरहेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढी/पहिरो गई जनजीवन प्रभावित भएका ईलाकाहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरी खोज तथा उद्धार कार्य संचालन गरिएको छ ।

भदाै १२ गते ईलाम नगरपालिका – ६ गढी निवासी स्थानीय कमला विश्वकर्माको २ तले कच्ची घरको पूर्व र उत्तर तर्फको गाह्रो चर्किन गई जोखिम पूर्ण भएको हुँदा नेपाली सेनाको उद्धार टोलीद्वारा घरमा रहेका सर सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै उक्त घरमा बसोवास गर्ने परिवारलाई सोही स्थानमा अस्थायी बासस्थानको व्यवस्था मिलाईएको छ ।

भदाै ११ गते सिरहा जिल्ला, सिरहा नगरपालिका – ६ र १२ जोड्ने पुलमा बाढीले क्षति पुर्‍याएको हुँदा स्थानिय प्रशासनको अनुरोधमा नेपाली सेनाको उद्धार टोलीद्वारा उक्त पुललाई बाढीको क्षतिबाट जोगाउन अन्य सुरक्षा निकाय र स्थानिय बासिन्दाको सहयोगमा करीब ३ सय बोरा माटो भरी पुललाई मजबुत बनाउने कार्य गरेको छ। त्यस्तै कोहलपुर नगरपालिका – १२ महेन्द्र राजमार्ग स्थित सरस्वती वन ईलाकामा खयरको रुख ढलेर सडक अबरुद्ध भएको हुँदा नेपाली सेनाको टोलीद्वारा उक्त रुख पन्छाई अवरुद्ध सडक संचालनमा ल्याएकाे ।

नवलपरासी, मध्यविन्दु नगरपालिका – १० स्थित हुलाक कार्यालय डुवानमा परेको हुंदा नेपाली सेनाको उद्धार टोलीद्वारा उक्त कार्यालयमा बसोबास गर्दै आईरहेका पुन्यकान्त पोख्रेलको परिवारका सदस्यहरु लगायत अन्य सरसामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको ।

कैलाली, गौरीगंगा नगरपालिका – ३ पूर्व-पश्चिम राजमार्ग स्थित शिवगंगा धार्मिक सामुदायिक वन ईलाकामा घाँस/दाउरा गर्न गएका स्थानिय दुई जना नदीमा आएको बाढीका कारण चारैतिरबाट थुनिएको हुँदा नेपाली सेनाको उद्धार टोलीद्वारा उनीहरुको उद्दार कार्य गरिएको, कैलाली, मोहन्याल गाउँपालिका – ५ स्थित मसुरियातर्फ जाने कच्चि मोटरेबल बाटो पहिरोले अवरुद्ध भएकोले नेपाली सेनाको उद्धार टोलीले उक्त पहिरो हटाउन सहयोग गरेको साथै कैलाली, गोदावरी नगरपालिका – ४ भिमदत्त राजमार्गस्थित सडक खण्डमा पहिरोको कारण रुख ढली राजमार्ग अबरुद्ध भएकोले नेपाली सेनाको उद्धार टोलीले उक्त रुख हटाई राजमार्ग सुचारु गरेको ।

भदाै १२ गते सुनसरी जिल्ला, रामधुनी नगरपालिका – ५ झुम्का बजार स्थित म्याजिक सिनेमा हलको चौथो तल्लामा बिद्युतीय तार सर्ट भई आगलागी भएको हुँदा नेपाली सेनाको विपद व्यवस्थापन टोली, स्थानिय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीद्वारा संयुक्त रुपमा ६ वटा जुद्धबारुण यन्त्रको सहयोगमा उक्त आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिईएको समेत जानकारी गराईएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.