काठमाडौ, साउन ३: जुम्लास्थित कर्णाली स्वास्थ्य चिकित्सा विज्ञान प्रतिष्ठानमा डा गोविन्द केसीको समर्थनमा उत्रिएका स्थानीय, चिकित्सक तथा विद्यार्थीमाथि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली निशाना चुक्दा उक्त एक जना प्रहरी जवानलार्इ लागेर घाइते भएका छन्। उनको छातीमा गोली लागेको छ ।
२० दिनदेखि जुम्लामा अनशन बसीरहेका डा गोविन्द केसीलार्इ सरकारले अपहरण गरेर काठमाडौं ल्याउन खोजेपछि स्थानीयहरुले अवरोध सिर्जना गरेका थिए।
काठमाडौं पठाउन पुगेको कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली अस्पतालबाट केसीलाई नभेटी फर्किएसँगै प्रहरीले लाठी चार्ज तथा अश्रुग्याँस प्रहार गरेको थियो। अन्धाधुन्द गरेको लाठी चार्ज र अश्रुग्याँस प्रहारबाट दुर्इ दर्जन चिकित्सक सहित विद्यार्थी घाइते भएका छन्।
समाचार संकलन गरिरहेका पत्रकार माथि पनि प्रहरीले अवभद्र व्यवहार गरी लाठी चार्ज गरेको दृश्य खिचे क्यामरा फुटाइदिने धम्की समेत दिएका छन्।
बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौं पठाउन सरकारले निर्देशन दिएपछि त्यसको समन्वय गर्न कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए। उनीहरु अस्पताल भित्र प्रवेश गरेपनि डा. केसीलाई भने भेट्न पाएनन्।
केसीको पक्षमा नाराबाजी गर्दै विद्यार्थीले बाटो छेकेपछि त्यहाँकै भीसीसँग केही बेर कुराकानी गरेर उनीहरु फर्किएका थिए।