नेप्सेका सीईओद्वारा राजीनामा

| 2021 Aug 25 | 08:03 am 1585

काठमाडाैं, भदाै ९ः सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादमा तानिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले मंगलबार राजीनामा दिएका छन् ।

अर्थ मन्त्रालयले निलम्बन गर्ने तयारी गरेपछि कार्यकाल बाँकी रहँदै उनले राजीनामा बुझाएका हुन् । सीईओका हैसियतमा पदीय मर्यादा विपरित काम नगरेको दावी गर्दै उनले अनुसन्धानलाई सहज बनाउन राजीनामा दिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा दावी गरे ।
“नेप्सेको कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली र सञ्चालकको आचारसंहिताको व्यवस्था अनुसार दोस्रो बजारमा सूचीकृतबाहेकका कुनै पनि कम्पनीको सेयर खरिद गर्न पाउने उल्लेख छ,” उनले भने, “बजारमा अन्तर्राष्ट्रिय अभ्यास र नैतिकतालाई समेत जोडेर व्याख्या भएपछि छानविनलाई सहज बनाउन राजीनामा दिएको छु ।”

साउदले आफ्नो कार्यकालमा बजारको विकासका लागि महत्वपूर्ण कामहरु भएको भन्दै २८ बुँदे प्रगति विवरण समेत प्रस्तुत गरे । तर, बुक विल्डिङ प्रक्रियामार्फत साधारण सेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टमा सीईओ साउदकी श्रीमतीको साथै धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले छोरीका नाममा संस्थापक सेयर किनेको समाचार बाहिरिएपछि स्वार्थ बाझिने कारण नैतिक प्रश्न उठेको थियो ।

नियामक निकायका जिम्मेवार पदाधिकारीले यसरी बजारमा सेयर आउन लागको कम्पनीको ‘गोल्डेन सेयर’ हात पारेको आरोपसंगै दुबैलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोध्नुका साथै छानविन समिति नै गठन गरेर छानविन गरेको छ ।

यसै विषयमा अर्थ समितिले सकेत छानविन गरी कारवाही गर्न गत शुक्रबार अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो । अर्थमन्त्रीले छानबिन गरी कारवाहि गर्न पाँच सदस्सीय समिति गठन गरेको अर्थ समितिमा जानकारी गराएका थिए । समितिले छानबिन प्रतिवेदन तयार पारेको तथा निलम्बन गरि थप छानबिन तथा कारवाहि गर्ने बुझेपछि साउदले राजीनामा दिएका हुन् । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.