बजारमा सिटामोल अभाव !

रिपोर्ट नेपाल | 2021 Aug 21 | 07:15 am 3369

काठमाडौँ, भदौ ५ः कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरङ्ग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिएको हो ।

कोभिडविरुद्धको खोपबाहेक अन्य भरपर्दो निदानको उपाय यसको छैन । तथापि कोभिड लागेर ज्वरो, रुघाखोकी आएको खण्डमा सिटामोलको प्रयोगलाई चिकित्सा क्षेत्रले पनि प्रभावकारी उपायका रूपमा लिँदै आएको छ । यतिबेला बजारमा सिटामोल सहज रूपमा नपाइँदा सर्वसाधारण समस्यामा परेका छन् । गुर्जुधाराकी सविना श्रेष्ठले भनिन्, “पाँचवटा पसल चहारेपछि बल्ल बल्ल छैटौँ पसलमा सिटामोल एकपत्ता पाइयो ।” उहाँलेजस्तै सरोज उपकारेटीले पनि भाइलाई ज्वरो आएपछि बजारमा सिटामोल खोज्दा नपाएर वीर अस्पताल नै आउनुपरेको बताए ।

बजारमा सिटामोल पाइरहेको छैन भन्ने हल्ला आफूले पनि सुनेको तर त्यो सबै सत्य हुन नसक्ने दाबी औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले गरे । उनले भने, “चरम अभाव नै भएको भन्दा पनि पहिलेभन्दा बजारमा सिटामोल कम भएको हुनसक्छ ।” कोभिड क्राइसिसका कारण उद्योगीहरूले कच्चा पदार्थ पाउन नसकेकाले निजी कम्पनीको उत्पादन कम भएको केसी सुनाउछन् ।

विभागमा पछिल्लो समय सिटामोलको नयाँ मूल्य निर्धारण गर्नुपर्ने विषयमा दबाब र बहस दुवै चलिरहेको छ तर महामारीको समयमा सिटामोलको मूल्य बढाउँदा न्यायसङ्गत नहुने भएकाले त्यो कार्य तत्कालका लागि रोकिएको उनले जानकारी दिए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.