- वसन्त भुजेल
यतिबेला समाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बनेको छ । त्यो हो –‘नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ दल दर्ताका लागि युवा नेतृ रामकुमारी झाँक्रीले हात समातेर डोर्याउँदै निर्वाचन आयोग लैजाँदै गरेको तस्वीर ।’
तस्वीर भनेको आफैमा भयांकर तथा असिमिति अभिव्यक्ति हो । हजारौं शब्दमा समेटिन नसकिने कुरा एउटै तस्वीरले समेट्छ । शब्दको अभिव्यक्तिलाई बुझ्ने थोरै हुन्छन्, तर तस्वीरको अभिव्यक्ति भने जसजसको जति जति क्षमता छ त्यही अनुसार सबैले बुझ्छन् । सबैको दिमागले तस्वीरको आ–आफ्नो ढंगले व्याख्या गर्छन् । हुन त शब्द पनि तस्वीरकै सानो इकाई हो । तर अक्षरको तुलनामा तस्वीरको ताकत कयौं गुणा ठूलो छ ।

एमालेका तत्कालिन वरिष्ठ नेता नेपाल र युवा नेतृ झाँक्रीको यो तस्वीरका सन्दर्भमा सामाजिक सञ्जाल मार्फत प्रत्येक टाउकाहरुले आ–आफ्नो दृष्टिकोण अनुसार टिप्पणी तथा प्रतिक्रिया जनाएका छन् । ‘कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बु्द्धि’ भन्ने नेपाली उखान नै छ । धेरैले टिप्पणी गरेका छन् –‘यो तस्वीरले बाबु–छोरीको झल्को दियो ।’ कसै कसैले त रामकुमारीलाई कलियुगकी श्रवणकुमारी भनेर समेत टिप्पणी समेत गरे । सायद रामकुमारीको ठाउँमा योगेश भट्टराई , घनश्याम भुसाल, गोकर्ण विष्ट जस्ता पटक पटक मन्त्री बन्ने सौभाग्य पाएका युवा नेताहरुको तस्वीर भएको भए यतिविधि चर्चा हुने थिएन होला ।
हाम्रो पितृसत्तात्मक मुलुक हो । भन्दाखेरी नै साखा सन्तान भनिन्छ । छोरीलाई साखा र छोरालाई सन्तान भन्ने चलन अहिले पनि छ । तर बाबुआमा प्रति छोराले बेइमान गरेका उदाहरणहरु हाम्रो समाजमा प्रसस्त छन्, तर छोरीले बाबुआमा प्रति बेइमानी गरेका उदाहरण कमै छन् । छोरी हुनुलाई पूर्वजन्मको सत्कर्मका रुपमा यसै लिने गरिएको होइन रहेछ । यतिबेलाको जल्दो बल्दो राजनीतिक घटनाक्रमलाई नै हेरौं । वरिष्ठ नेता नेपाल करिव ७० वर्षका भए । २०५० सालमा मदन भण्डारीको निधन पछि नेकपा एमाले जस्ता प्रभावशाली पार्टीको १५ वर्षसम्म निरन्तर नेतृत्व सम्हाल्दा उनले कतिलाई मन्त्री बनाए होलान ? कतिलाई सांसद बनाए होलान ? कतिलाई उच्च पदमा राजनीतिक नियुक्ति दिलाए होलान ? यो संख्या हजारौं नाघ्न सक्छ । तर यी मध्ये उनले अहिले कतिजनाको साथ पाए त ? भन्ने प्रश्न निकै पेचिलो छ । यो प्रश्न कति पेचिलो छ ? भन्ने बुझ्न २०७१ सालमा काठमाडौंमा सम्पन्न एमालेको नवौं महाधिबशेन र त्यस पछिका मुख्य मुख्य घटनालाई सामान्य रुपमा विश्लेषण गर्नुपर्ने हुन्छ ।
अध्यक्षको उम्मेदवारीका लागि एक दशक देखि तयारी गरिरहेका केपी ओलीको पक्षमा शसक्त टिम बन्यो । बामदेव गौतम ईश्वर पोखरेल लगायतका प्रभावशाली नेताहरु ओलीको टिममा सामेल भए पछि यसै पनि पल्ला भारी भयो । यो टिममा ठाउँ नपाउनेहरु लगभग अलपत्र पर्ने अवस्था आयो । ओली सँग प्रतिस्पर्धा गर्न तत्कालिन अध्यक्ष झलनाथ खनाल डराए । खनाल पछि हटे पछि छोटो समयको पूर्व तयारीमा माधव नेपालले अध्यक्षको उम्मेदवारी घोषणा गरे । उनले अध्यक्षको उम्मेदवारी घोषणा गरेपछि ओलीको विकल्पमा अर्को सशक्त टिम बन्यो । जुन टिममा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका युवा नेताहरुले मात्रै ठाउँ पाएनन्, अष्टलक्ष्मी शाक्य, भीम रावल, भीम आचार्य , लगायतका पुराना नेताहरुका लागि पनि आश्रय स्थल बन्यो । अध्यक्ष पदमा माधव नेपालले करिव ५० भोटको अन्तरले चुनाव हारे पनि उनको टिमका उल्लेख्य नेताहरुले चुनाव जिते । तर चुनाव जितेको भोलिपल्टै देखि अध्यक्ष ओली आफूलाई महाधिवेशनमा साथ नदिनेहरुको राजनीति समाप्त पार्ने अभियानमा जुटे । माधव नेपाललाई त उनले वरिष्ठ नेताको सम्मान दिएकै थिए । आगामी महाधिवेशनसम्मका लागि यहाँ भन्दा ठूलो भूमिका खोज्ने नैतिक धारातल नेपाललाई थिएन पनि । तर आफूलाई महाधिवेशनमा साथ नदिनेहरुलाई अध्यक्ष ओलीले जे जसरी खेद्न थाले त्यसलाई टुलुटुलु हेरेर बस्न वरिष्ठ नेता नेपालको नैतिकताले दिएन । उदाहरणका लागि विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउँदै गर्दा उनी भन्दा सबै कुरामा सिनियर अष्टलक्षी शाक्यलाई बाग्मती प्रदेशको मुख्यमन्त्री बन्न बन्चित गरिएको प्रकरणमा माधव नेपाल मौन बस्न सकेनन् । अन्यायमा परेका नेता तथा कार्यकर्ताहरु गुहार माग्न नेता नेपाल कहाँ ओहिरो लाग्न थाले । अन्यायमा परेकाहरुको आवाज मुखरित गर्नु नेता नेपालको कर्तव्य पनि थियो । उनले यो कर्तव्य निर्वाह गर्दै गए ।
दोस्रो पटक प्रधानमन्त्री बने पछि केपी ओलीको दिमागमा जंगबहादुर बन्ने भुत सवार भयो । जंगबहादुर बन्नका लागि कोत पर्व गर्नै पर्ने भयो । कोतपर्वका लागि ओलीले गोकुल बास्कोटा, महेश बस्नेत, पार्वत गुरुङ, किसान श्रेष्ठ लगायतको खतरनाक झुण्ड तयार गरे । जसलाई ओलीले अरिङालको नाम दिए । ओलीको देवत्वकरण अभियानमा जो जो सामेल हुँदैनन् उनीहरुलाई डसेरै सिध्याउने अभियानमा अरिङालहरु जुटे । अरिङालहरुको डसाईबाट जोगिनका लागि आश्रय स्थलको खोजि गर्दै माधव नेपाल कहाँ ठूलो भीड लाग्यो । तर त्यो भीडमा के कस्ता अनुहारहरु के के कारणले सामेल छन् ? भन्ने हेक्का नेता नेपालले राखेनन् । त्यो भीडलाई नेता नेपालले आफ्नो शक्ति ठाने । त्यही शक्तिका आडमा जंगबहादुर उन्मुख ओलीसँग भिड्ने निधो नेपालले गरे । २०७७ पुस ५ गतेदेखि एमाले भित्र महाभारत सुरु भयो । यो महाभारतमा युद्धका नियम उल्लंघनलाई खासै महत्व दिइएन । दुवै पक्षले युद्धको नियम उल्लंघन गर्न थाले ।
द्धापार युगको महाभारत १८ दिनमा टुंगिएको थियो भने एमाले भित्रको महाभारत करिव एक वर्ष देखि जारी छ । यो महाभारत कहिले टुंगिन्छ ? यसै भन्न सकिने अवस्था छैन । तर युद्ध मैदानमा जानका लागि नेता नेपाललाई उकास्नेहरुमध्ये उल्लेख्य धनुर्धरहरु ओलीको पक्षबाट लडाँइ गर्न थाले । आफ्नो टिमका प्रभावशाली भनिएका खेलाडीहरु नै निर्णायक घडी आउँदा ओलीको पक्षमा लागेका कारण माधव नेपालले पराजयको हात उठाउने अनुमान धेरैले गरेका थिए । तर सत्यको पक्षमा भएको लडाँइमा योद्धाको खाँचो हुँदो रहेनछ । अझ सशक्त धर्नुधरका रुपमा रामकुमारी झाँक्री देखा परिन् ।
राजा ज्ञानेन्द्रको निरंकुश कदम विरुद्ध सडकमा झण्डा उठाएर किशोर अवस्थामै आफूलाई राजनीतिमा स्थापित गरिसकेकी नेतृ झाँक्रीका लागि अब अवसर र चुनौति बराबर जस्तै छ । अवसर यस मानेमा छ कि, ७० वर्ष नाघेका नेता नेपालको राजनीतिक उत्तराधिकारी उनी बनेकी छिन् । चुनौति यस मानेमा छन कि, एमालेका अध्यक्ष ओलीले माधव नेपाललाई कटाक्ष गर्दै भनेका छन् –‘पाडी पालेर कहिले दुध खाने ?’ हुन पनि ओलीका लागि महेश बस्नेत, गोकुल बास्कोटा, पार्वत गुरुङ लगायतका लैना भैंसीहरु धेरै छन् । ओलीले विद्यादेवी भण्डारीलाई धेरै दुध दिने लैनो भैंसी मान्ने हो भने रामकुमारी झाँक्रि अहिलेका लागि बकुर्नो पाडी नै हुन् । तर बुढी भैंसीको भन्दा पाडीकै भविष्य हुन्छ भन्ने कुरा पनि ख्याल गरौं ।
विगतमा नेपाली कांग्रेस सुद्धिकरणको प्रयासमा लाग्दा गणेशमान सिंह समेत एक्लिँदै गएर अन्तिममा श्रीमती र छोराको समेत साथ नपाए पछि अर्काको घरमा सहारा लिनु पर्ने अवस्थामा पुगेको थिए । त्यतिबेलाका गिरिजाप्रसाद कोइराला भन्दा यतिबेलाका ओली अझ खतरनाक छन् भन्ने कुरा बुझिनन् भने रामकुमारी झाँक्री पनि हतोत्साहित हुने दिन आउन धेरै टाढा छैन ।