आजबाट देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेक सबै बन्द

| 2018 Jul 19 | 06:17 am 3600

काठमाडौं, साउन ३ : नेपाल चिकित्सक संघले आजबाट देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ।

अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको र वार्ता पनि केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने प्रयासमा केन्द्रित रहेको भन्दै संघले सेवा बन्द गर्ने घोषणा गरेको हो ।

संघको विज्ञ टोलीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधार गर्नेभन्दा सरकार केसीले जीवन त्याग्नु पर्ने परिस्थितितर्फ अग्रसर भएको आरोपसमेत लगाएको छ। संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र काठमाडौं उपत्यकामा दिउँसो १ बजे माइतीघर मण्डलामा चिकित्सकलाई भेला हुन समेत आग्रह गरेको छ।

एक दिने बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीको आवाज सरकारसम्म पुर्‍याउन र सरकारलाई संवेदनशील हुन सहयोग पुग्ने संघको विश्वास छ। संघले सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.