काठमाडौँ साउन २४: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो साझा नीति तथा कार्यक्रम तयार पारेको छ आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममार्फत कार्यक्रम निर्धारण गर्न गठित समितिका संयोजक पूर्णबहादुर खड्काले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पालमा भएको भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउने प्रतिबद्धता देउवा सरकारले जनाएको छ। देउवा नेतृत्व सरकारले तयार पारेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पालमा स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउने उल्लेख गरिएको छ।
त्यस्तै देउवा सरकारले कोरोना नियन्त्रणलाई प्राथामिकता दिने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, संवैधानिक सर्वोच्चता र विधिको शासनलाई सुनिश्चितता गर्ने जस्ता कार्यक्रम समेटिएको छ।
यसप्रकार छन सरकारका न्यूनतम साझा प्राथमिकताहरू:
१. संयुक्त सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय संकटको समाधान गर्ने।
२. संविधानको सर्वोच्चता, कानुनी राज र सुशासनको प्रत्याभूति दिने।
३. शान्ति प्रकृयालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिहरूकोकार्यान्वयन गर्ने।
४. राजनीतिक दलहरूबिच सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने।
५. संघीयता कार्यान्वयन, प्रदेश र स्थानीय तहका सरकारहरूको सवलीकरण तथा आवश्यक र विचाराधीन विधेयकहरू संसदमा प्रस्तुत गर्ने।
६. सामाजिक–आर्थिक रूपान्तरणको आधार निर्माण गर्दै उच्च आर्थिक विकासमा जोड दिने।
७. उत्पादनमूखी अर्थतन्त्रमा जोड, आपुर्ति व्यवस्थामा सुधार, महँगी नियन्त्रण र भ्रष्टाचारको छानबीन र कारबाहीका लागि अग्रसरता लिने।
८. कोभिडका कारण संकटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, सिनेमा तथा मनोरञ्जन उद्योगलगायतका क्षेत्रहरू तथा श्रमजीवी, विपन्न, बेराजगार आदिको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गर्ने।
९. बाढी, पहिरो तथा डुवानमा परेका जनताको उद्धार, राहत तथा पुननिर्माणमा जोड दिने।
१०. जनताको समृद्धिका लागि राष्ट्रिय हीतमा आधारित परराष्ट्र नीति अबलम्बन गर्ने।
११. आपसी संवाद, सहमति र सहकार्यको संस्कृतिको विकास गर्दै राष्ट्रिय एकता सुदृढ गर्ने।