स्वास्थ्य एकाइ बन्द हुँदा बिरामी मर्कामा

रिपोर्ट नेपाल | 2021 Aug 02 | 07:38 am 2801

हुम्ला, साउन १८ः जनताको घरघरमै स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ दुई वर्षयता स्थापना हुँदै आएका सामुदायिक स्वास्थ्य इकाइहरू बन्द भएका छन् । चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा प्रदेश सरकारले यो कार्यक्रमका लागि बजेटको व्यवस्था नगरेका कारण साउन १ गतेबाट ती इकाइहरू बन्द भएका हुन् ।

खार्पुनाथ गाउँपालिका–५, ताक्लागाउँकी सुपुरी नेपालीले भएको स्वास्थ्य संस्था बन्द हुँदा बिरामी मर्कामा परेको बताए। उनले घर आँगनमै उपचार गर्न पाएको बेला एक्कासी साउन महिनायता इकाइ बन्द हुँदा बिरामीले एक घण्टा पैदल हिँडेरै उपचार गर्नुपरिरहेको गुनासो गरे।  गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलका अनुसार गाउँपालिकाभरी छवटा सामुदायिक आधारभूत स्वास्थ्य इकाइ बन्द गर्नुपरेको बताए ।

उनले आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म प्रदेश सरकारले बजेटको व्यवस्था गर्दा इकाइ सञ्चालन भए पनि चालू आर्थिक वर्षको यो कार्यक्रम नै नराखेका कारण इकाइ बन्द गर्नुको विकल्प नरहेको बताए ।

बिरामीलाई उपचारमा कठिनाइ भएकोमा दुःखी तुल्याएको भन्दै उनले प्रदेश सरकारको नीति नै बुझ्न कठिन भएको टिप्पणी गरे । यो वर्ष कार्यक्रम नै नआएपछि चारवटा इकाइ बन्द गर्नुपरेको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए ।

यद्यपि गाउँपालिकाले थप दुईवटा इकाइको भौतिक संरचना निर्माणका लागि बजेटको व्यवस्था गरेको छ । उनले इकाइ बन्द हुँदा स्थानीय सेवाग्राही र जनप्रतिनिधि पुनर्स्थापनाका लागि गाउँपालिकामा डेलिगेसनसमेत आएको बताए । यो अवस्था नाम्खा गाउँपालिकामा पनि रहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले चारवटा इकाइ बन्द गर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

उनले स्थापना भएर बिरामीको उपचारका लागि राम्रो सेवा प्रदान गर्दै आएका यी स्वास्थ्य संस्थाको लागि पुनः बजेटसहितको कार्यक्रम ल्याउन माग गरे । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार सातवटै गाउँपालिकाका २३ वटा इकाइ बन्द रहेको बताए । उजले बजेट तथा कार्यक्रम प्रदेश सरकारबाट यस आर्थिक वर्षका लागि नआएपछि इकाइ बन्द भएको जानकारी दिए । यी प्रत्येक स्वास्थ्य इकाइमा तीन /तीन जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको थियो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.