अमेरिकामा नेपाली पत्रकारहरूकाे जमघट

रिपोर्ट नेपाल | 2021 Jul 28 | 12:34 pm 2277

भर्जिनिया, साउन १३ः अमेरिका स्थित नेपाली पत्रकारहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को ७औं अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । अधिवेशनले विकासराज न्यौपानेलाई नयाँ अध्यक्ष निर्वाचित गरेको छ ।

कार्य समितिका अधिकांश पदमा निर्विरोध निर्वाचित भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिवमा चुनाव नै भएको थियो ।अधिवेशन जुलाई २४ र २५ तारेखमा सम्पन्न भएको हो । नव निर्वाचित न्यौपाने टेक्सास उचालस निवासी हुन् र उनी हिमालय खबर अनलाइनसँग सम्बद्ध छन् ।

No description available.

यहाँ आयोजित अधिवेशनमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल रहेका थिए । नेजाले हरेक अधिवेशनमा महासंघका अध्यक्षलाई प्रमुख अतिथि बनाउने नीति अपनाएको छ ।

उद्घाटन कार्यक्रममा आफ्नो मन्तब्य व्यक्त गर्दै महासंघका अध्यक्ष पोखरेलले पत्रकारहरुले निर्भीक भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने विचार व्यक्त गरेका थिए । अध्यक्ष पोखरेलले पत्रकारले सत्य कुरा सम्प्रेषण गर्दा नरुचाउनेहरुले आफ्नो चरित्र सुधार्नु पर्ने बताएका थिए । नेजाले पत्रकारिताको विकाससँगै सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको पनि अध्यक्ष पोखरेलले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा आफ्नो मन्तव्य व्यक्त गर्दै महासंघका पूर्व सभापति तथा प्रेस काउन्सिलका पूर्व अध्यक्ष हरिहर विरहीले पत्रकारहरुले व्यावसायिक हितका अतिरिक्त राष्ट्र र जनताको भविष्यलाई उच्च प्राथमिकता दिनुपर्ने बताउँदै लोकतन्त्रका लागि भएका हरेक परिवर्तनमा पत्रकारहरुले विशेष भूमिका निभाएकाले यसलाई सफल पार्ने जिम्मेवारी पत्रकारहरुको पनि भएको तर्फ ध्यानाकर्षण गराएका थिए ।

No description available.

पूर्व सभापति विरहीले अमेरिकामा संघीय लोकतान्त्रिक गणतन्त्र युक्त संविधान बनेको समय भन्दा नेपालको अहिलेको अवस्था राम्रो रहेको बताउँदै यहाँ संघीय लोकतान्त्रिक गणतन्त्र सफल हुन्छ भने नेपालमा किन हुँदैन ? त्रुटी रहित व्यवस्था संसारमा कतै पनि छैन । सबै भन्दा कम त्रुटी भएको व्यवस्था हामीले अपनाएका छौं । त्यसैले देखिएका त्रुटीहरु हटाउँदै यो संविधानलाई सार्थक बनाउने काममा पत्रकारहरुले विशेष भूमिका निभाउनु पर्ने विरहीको भनाई रहेको थियो ।

लोकतन्त्रको सुदृढिकरण कानुनी राज्य र विधिको पालनामा अमेरिकाले हासिल गरेको सफलताका सन्देश र शिक्षालाई अमेरिकास्थित नेपाली पत्रकारहरुले प्राथमिकताका साथ सम्प्रेषित गर्नुपर्ने राय व्यक्त गर्दै पूर्व सभापति विरहीले नेपालमा हुने सामान्य सरकार परिवर्तन वा दलहरुको द्धन्द्धमा पत्रकारहरु यो वा त्यो पक्षमा संलग्न नभई लोकतान्त्रिक मुल्य मान्यताको रक्षाका लागि निगरानी र खबरदारीको भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

No description available.

अर्का विशेष अतिथि गैह्र आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धिसुन्दर सुवेदीले नेजा प्रति एनआरएनए सधै सहयोगात्मक भावना रहेको र भविष्यमा पनि सहयोग गर्न तयार रहेको जानकारी दिएका थिए ।

त्यस्तै, मेरिल्याण्ड राज्यकाे संसदका सदस्य, नेपाली मुलका ह्यारी भण्डारीले नेपाली पत्रकारहरुलाई आइपर्ने हरेक समस्यामा सहयोग गर्न आफू तयार रहेको बताएउँदै नेजाकाे प्रशंसा गरेका थिए ।

नव निर्वाचित अध्यक्ष विकासराज न्यौपानेले आफूले नेजाको गौरवपूर्ण परम्परा र छविमा कदापि आँच आउन नदिने र सबैको सहयोग प्राप्त गरी अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै उप विजेता गोकुल ढकालले आफू निर्वाचित हुन नसके पनि कार्यसमितिलाई मन, वचन र कर्मले सहयोग गर्ने स्पष्ट पार्दै कसैले सुनियोजित रुपले चलाएको हल्लामा विश्वास नगर्न आग्रह गरे ।

अमेरिका स्थित नेपाली राजदूत युवराज खतिवडा कार्यक्रममा आउने बचन दिएर पनि उनी आएनन् । कार्यक्रममा करीब दुई सय नेपाली पत्रकारहरूकाे उपस्थिति थियाे । नेजाको अधिवेशन प्रत्येक दुई दुई वर्षमा हुने गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.