नवील बैंकले राख्यो दुर्गम गाउँमा शाखा

रिपोर्ट नेपाल | 2018 Jul 18 | 10:53 am 1930

काठमाडौँ,साउन २: ग्राहकलाई छिटो छरितो र झन्झट रहित सेवा दिदै आएको नवील बैंकले देशका विभिन्न गाउँपालिकामा १२ शाखा थप गरेको छ ।

छोटो समयमा गुणस्तरीय सेवा दिदै जनताको मन जित्न सफल बैंकले आफ्नो बैंकिङ सेवा शुरु भएका गाउँपालिकामा डडेल्धुराको आलिताल, सुर्खेतको बराहताल, बझाङको वित्थडचिर, रुपन्देहीको सम्मरीमाई, जुम्लाको तिला, सल्यानको दार्मा, बैतडीको पञ्चेश्वर, डोटीको सायल, अछामको रामारोशन र तुर्माखाद, कालीकोटको पचालझरना र पलाँतामा शाखा राखेको हो ।

यसबारे जानकारी दिन आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले ती गाउँपालिकाका शाखाको विद्युतीय स्वीच थिचेर उद्घाटन गरेका थिए । आफ्नो उद्घाटन मन्तव्य राख्दै मन्त्री खतिवडाले ग्रामीण भेगमा गरिएको शाखा विस्तारबाट वित्तीय कारोबार बैंकिङ प्रणालीबाट गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

मन्त्री खतिवडाले बैंकिङ सेवा पुग्न नसकेका स्थान तथा अन्य गाउँपालिकामा पनि सेवा विस्तार गर्न सुझाव दिँदै समृद्ध नेपाल सुखी नेपालीका लागि वित्तीय समावेशिता, बैंकिङ पहुँच तथा बैंकिङ महत्वका बारे प्रकाश पारेका थिए ।

बैंकका कार्यकारी अधिकृत अनिलकेशरी शाहले प्रत्येक गाउँमा बैंकिङ सेवा विस्तार गरी वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंकले दिएको निर्देशनअनुसार अन्य स्थानमा पनि शाखा थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.