नेपाल समूह सरकार र पार्टी दुवैमा निर्णायक

| 2021 Jul 27 | 07:47 am 1589

काठमाडौं, साउन १२ः नेकपा एमाले नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा देखिएको छ । नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेकै कारण अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । नेपाल समूहकै कारण देउवा संसद्मा विश्वासको मत लिन सफल भएका हुन् । तर, नेपाल समूहले पार्टी एकतामा जाने वा सरकारमा सहभागी हुने निर्णय गर्न नसक्दा प्रधानमन्त्री देउवाले दुई साता बितिसक्दा पनि मन्त्रिपरिष्दलाई पूर्णता दिन सकेका छैनन् ।

देउवा नेतृत्वको सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल निवास कोटेश्वरमै धाइरहेका छन् । नेपाल समूह सरकारमा सहभागी भएको खण्डमा नेपाल समूहलाई ६ देखि ८ वटा मन्त्रालय दिने सहमति बनेको छ ।

उता जसपा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट पार्टीको आधिकारिता पाएसँगै तत्काल सरकारमा सहभागी हुने भएको छ । परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति र शहरी विकास मन्त्रालय ताकेको जसपाले कम्तीमा ६ वटा मन्त्रालय लिने भएको छ । तर, नेपाल समूह सरकारमा सहभागी हुने नहुने निर्क्याैल नभएसम्म यसै भन्न सकिने अवस्था छैन ।

सरकारलाई बलियो बनाउन विपक्षी गठबन्धनले नेपाल समूहको साथ खोजिरहेको छ । नेपाली कांग्रेसका नेता राजन केसीले नेपाल समूहलाई सकेसम्म सरकारमा सहभागी गराएर प्रभावकारी रूपमा सरकार सञ्चालन गर्नुपर्ने बताए । उनले भने– ‘नेपाल समूहले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि सरकारलाई सफल बनाउन पनि उहाँहरू सरकारमा सहभागी हुनुपर्छ ।’ अब संसद् विघटन नहुने अवस्था सिर्जना भएकाले गठबन्धनले अगाडि सारेका एजेन्डा कार्यान्वयन गर्न पनि नेपाल समूह सरकारमा सहभागी हुनुपर्ने उनको भनाइ थियो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.