दुई लाख क्विन्टल खाद्यान्न बेच्यो खाद्य कम्पनीले

| 2021 Jul 25 | 08:26 am 2589

काठमाडाैं, साउन १०ः खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले एक वर्षमा २ लाख क्विन्टल खाद्यान्न बिक्री गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७-०७८ मा सुगम तथा दुर्गम जिल्लामा २ लाख ६ हजार ७२१ क्विन्टल चामल बिक्री गरेको हो । कम्पनीले धान चामल, गहुँ खरिद गरेर व्यापार गर्दै आएको छ । सरकारी स्वामित्वमा रहेको कम्पनीले बजार मूल्यभन्दा सुपथ मूल्यमा बिक्री गर्दै आएको छ । चामल, गहुँ, गेडागुडी, इन्डक्सन चुल्हो बिक्री गर्दै आएको छ ।

१ लाख ७० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य राखेकोमा दुई लाख क्विन्टल वितरण गरेको छ । कम्पनीले एक वर्षको अवधिमा दुर्गम जिल्लामा १ लाख १५ हजार ३१९ क्विन्टल बिक्री गरेको जानकारी दिएको छ । कम्पनीले सुगम जिल्लामा ९१ हजार ४ सय १ क्विन्टल खाद्यान्न वितरण गरेको छ । गत वर्ष दुर्गम पहाडी जिल्लामा खाद्यान्न ढुवानी गर्नका लागि ४६ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

सोही बजेटअनुसार दुर्गम जिल्लामा १ लाख १५ हजार क्विन्टल खाद्यान्न ढुवानी गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले सरकारले तोकिएको समर्थन मूल्यमा किसानबाट धान खरिद गरेर कुटाएर चामल बिक्री गरेको जानकारी दिएको छ ।

सुगम जिल्लामा ६० हजार ८१७ र दुर्गम जिल्लामा २६ हजार ७७२ क्विन्टल चामल मौज्दात रहेको कम्पनीले जानकारी दिएको छ । यस्तै ११ हजार ४१८ क्विन्टल गहुँ मौज्दात रहेको कम्पनीले जानकारी दिएको छ । त्यसैगरी ९८ हजार क्विन्टल धान मौज्दात रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले गत वर्ष १ लाख १३ हजार ७७२ क्विन्टल चामल खरिद गरेको थियो । किसानबाट खरिद गरेका धान कुटाएर १ लाख ३७ हजार ३२४ क्विन्टल चामल बिक्री गरेको हो ।
कम्पनीले विभिन्न २४ वटा दुर्गम तथा पहाडी जिल्लामा खाद्यान्न ढुवानी गरेर सुपथ मूल्यमा बिक्री गर्दै आएको छ । कम्पनीले हवाई र सडक मार्गमार्फत खाद्यान्न ढुवानी गर्दै आएको छ ।

कम्पनीले किसानबाट समर्थन मूल्यमा धान खरिद गरेर आफ्नै मिलमा चामल कुटाएर बिक्री गरेको थियो । सरकारले मोटा धानको प्रति क्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको प्रति क्विटल २ हजार ८८५ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।
किसानलाई उचित मूल्य उपलब्ध गराउनका लागि सरकारले प्रत्येक वर्ष धानको समर्थन मूल्य निर्धारण गर्ने गर्छ । सोही मूल्यमा कम्पनीले धान खरिद गरेर चामल बिक्री गर्दै आएको छ । यसैबीच, चालू आर्थिक वर्षको लागि दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्नका लागि ४६ करोड रुपैयाँ बजेटमा विनियोजन गरिएको छ । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.