लालपुर्जा हातमा, जग्गा खोलामा

रिपोर्ट नेपाल | 2021 Jul 25 | 08:05 am 2009

सिरहा, साउन १०: अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे। लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ। यसको एउटै कारण हो, बलान नदीको फेरिएको धार। तीन वर्षको अन्तरालमा उनको २ बिघा खेतीयोग्य जग्गा बलान नदीले निल्यो। उनको लालपुर्जा हातमा छ, जग्गा खोलाको बगरमा परिणत भएको छ।

सोही गाउँका महेन्द्र यादवको अवस्था पनि उनी भन्दा फरक छैन। उनको १ बिघा जग्गा नदीमा परिणत भएको छ। लालपुर्जा छ। जग्गा छैन। फुलचन यादवको १० कठ्ठा जग्गा नदीले बगर बनाएको छ। बलान नदी खेतीयोग्य जमिन निल्न थालेपछि यहाँका किसान मारमा परेका छन्। लहान नगरपालिका–२३ का करैया, तिलबोना, सखुवानन्कारकटी गाउँपालिका–४ का सिमराहा र भगवानपुर गाउँपालिकाका केही गाउँ अन्न उत्पादनका हिसाबले उम्दा थिए। घनाबस्ती रहेको यी गाउँका लागि बरदान मानिने नदी पछिल्लो समय काल बनेर कहर मच्चाउन थालेपछि खाद्य संकटको त्रास पनि बढेको स्थानीय राजु यादवले बताए।

‘विगतमा धान, मसुरो, बदाम र गहुँको बाला झुल्ने खेत अहिले नदीमा मिसिएको छ,’ उनले भने, ‘यो नदीले हामीलाई बेहाल बनाइदियो।’

पहिले–पहिले गाउँको उत्तरपूर्वबाट आएको पानी बगेर दक्षिणतर्फ जान्थ्यो। छिपछिपे बग्ने खहरेमा सहजै आउजाउ गर्थे यहाँका मानिस। ‘तर, २०४६ ताका बलान अचानक पश्चिमतर्फ सोझिएर खेत डुबायो। नदीले गाउँतर्फ कटान गर्न रोकेन। पाँच वर्षपछि फेरि बलानले सैयौं बिघा खेत डुबायो,’ तिलबोनाका अमरलाल यादवले भने, ‘डुबान र कटानबाट खेतलाई जोगाउन हामीसँग कुनै उपाय भएन। प्रशासनदेखि नेता सबैलाई गुहार्दा पनि रोकथाम र नियन्त्रणको कार्य हुन सक्दा वर्षैपिच्छे यहाँको खेत नदीले निल्दैछ।’ यसवर्ष मात्रै १० विघा भन्दा बढी जग्गा नदीमा मिसिएको उनले सुनाए।

बलान नदीमा झिझिर खोला मिसिएर थुप्रै धार बनाएको छ। पछिल्लो पटक आएको बाढीले नदीको पश्चिमी किनार कटान सुरु गरेको छ। चुरे मूल भएको बलान नदी त्यत्तिकै विनाशकारी बनेको होइन। चुरेको अनियन्त्रित दोहनका कारण नदीले धार परिवर्तन गरेको यस क्षेत्रका स्थानीय बताउँछन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.