सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति

रिपोर्ट नेपाल | 2021 Jul 16 | 06:55 am 1817

काठमाडौं, असार १ः सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन मिल्ने भएका कारण नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ६, जनता समाजवादीबाट ६ जना मन्त्री बनाउने विषयमा शीर्ष नेताहरूबीच मोटामोटी सहमति जुटेको बताइएको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने अवस्थामा बढी नै मन्त्रालय दिनुपर्ने समझदारी पनि गठबन्धनबीच भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । जवाफमा नेता नेपालले सरकारमा सहभागी हुन कानुनी जटिलता रहेकाले केही समय लाग्ने बताउँदै आएका छन् ।

गठबन्धनमा नेपाल समूहलाई आठ वटासम्म मन्त्रालय दिने विषयमा नेताहरूबीच सहमति भएको बताइएको छ ।प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादी केन्द्रबाट दुई/दुई गरी चार जनालाई मन्त्री नियुक्ति गरिसकेका छन् । पार्टीको आधिकारिकताको विवाद निर्वाचन आयोगमा रहेकाले जसपा उपेन्द्र यादव नेतृत्वको समूह उक्त विवाद हल भएपछि मात्र सरकारमा सहभागी हुनेभएको छ ।

देउवा नेतृत्वको सरकारमा जसपाले सात मन्त्रालय माग गरे पनि छवटामा सहमति भएको बताइएको छ । जसपाका नेता गंगा श्रेष्ठ गठबन्धनलाई एकताबद्ध बनाएर लैजाने विषय ठूलो भएकाले मन्त्रालय भागबण्डा ठूलो विषय नभएको बताउछिन् । उनीले भनिन्– ‘शीर्ष तहमा एक खालको समझदारी भइसकेको छ, निर्वाचन आयोगमा रहेको विवाद हल भएपछि हाम्रो पार्टी सरकारमा सहभागी हुन्छ ।’

प्रधानमन्त्री देउवाले विश्वासको मत लिनका लागि निर्णायक एमालेका नेपाल समूह हो । नेपाल समूहले विश्वासको मत नदिएको अवस्थामा संसद् विघटन गरेर पुनः निर्वाचनमा जाने अवस्था सृजना हुनेछ । प्रधानमन्त्री देउवा विश्वासको मत लिएर बाँकी कार्यकाल प्रधानमन्त्री बन्ने योजनामा रहेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै कोटेश्वरमा बसेको गठबन्धनको बैठकमा नेता नेपालले पार्टीभित्र दशबुँदे सहमति भएकाले गठबन्धनमा रहन नसक्ने संकेत गर्नुभएको थियो ।तर, असार २९ मा प्रधानमन्त्री देउवा नियुक्त भएसँगै आयोजित शपथ ग्रहण कार्यक्रममा सहभागी भएर नेता नेपालले देउवालाई पहिलो बधाई दिएका थिए ।

बुधबार मात्र प्रधानमन्त्री देउवाले नेपाल निवासमै पुगेर विश्वासको मत र सरकारमा सहभागी हुन आग्रह गरेका थिए । केपी ओली नेतृत्वको सरकार ढाल्न मुख्य भूमिका खेलेको भन्दै नेपालको पार्टीभित्र चर्को ओलोचना हुँदै आएको छ ।

प्रधानमन्त्रीबाट बिदाइ भई आफ्नै निवास बालकोट पुगेर अध्यक्ष ओलीले नेपाललाई पार्टीभित्र कुनै ठाउँ नभएको अभिव्यक्ति दिइकेका छन् । पार्टीले कारबाही गर्ने तयारी गरे पनि नेता नेपाल समूह नयाँ दल दर्ता गरेर सरकारमा सहभागी हुने गृहकार्यमा लागेको बताइएको छ । सर्वोच्च अदालतले विश्वासको मत दिन संसदीय दलको ह्वीप नलाग्ने फैसला गरेको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.