काठमाडौ, असार ३१ः सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा बिहीबार आयोजित विशेष समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका दुई जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्हबाट शुसोभित गरेका छन् ।
नेपाल सरकार माननीय उपप्रधान तथा गृहमन्त्रीस्तरको असार २९ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकद्वय कालीदास धौवजी र कुमार न्यौपाने सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका हुन् ।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा अनुशासित र ईमान्दारितापूर्वक व्यवसायिक ढंगबाट जिम्मेवारी निर्वाह गरी शान्ति सुरक्षा तथा सेवा प्रवाहमा पुर्याएको योगदानको कदर स्वरुप पदोन्नती प्राप्त भएको उल्लेख गर्दै दर्जासँगै प्राप्त भएको थप जिम्मेवारी निर्वाहमा अझ बढी कृयाशिल रहँदै
ईमान्दारितापूर्वक कार्यसम्पादनमा जुट्न निर्देशन समेत दिए ।
उनले पदोन्नती बृद्धि विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै कमाण्डर तहका अधिकृतहरुले मातहतका कर्मचारीहरुलाई समेत अनुशासन, ईमान्दारीता, कर्तव्यनिष्ठ बनाई उच्च मोराल प्रदान गरी स्तरीय ढंगले परिचालित गर्दै राष्ट्रको सुरक्षा, नागरिकको सेवा, विपद् प्रकोप पीडितको उद्धार, सीमा सुरक्षा, चोरीपैठारी तथा निकासी नियन्त्रण लगायत
राज्यप्रदत्त विविध जिम्मेवारीका क्षेत्रहरुमा पूर्ण व्यवसायिक भई कृयाशिल रहन निर्देशन दिए ।
राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले विश्वव्यापी महामारीका समय होस वा विभिन्न भौगोलिक क्षेत्रमा रही कठ्यांग्रीने जाडो तथा प्रचण्ड गर्मी र विपद् प्रकोपको समयमा समेत आफ्नो ज्यानको प्रवाह नगरी अग्रपंक्तिमा खटिदै आफ्नो भूमिका निर्वाहमा कटिवद्ध रहेर सांगठानिक विकास तथा राष्ट्र र नागरिकको सेवा सुरक्षामा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भ्रष्टाचार, मानवअधिकार र लैगिंक हिंसा लगायतका विषयमा संगठन शुन्य सहनशिलताको नीति अङ्गिकार गर्दै अगाडी बढिरहेको उल्लेख गर्दै सोको सबैले अनुशरण गरी
सुशासन कायम राखी शान्ति सुरक्षाको माध्यमद्वारा समग्र राष्ट्रको विकासमा व्यक्तिगत स्वार्थभन्दा माथि रहेर सामुहिक भावनाकासाथ उच्च मोरालमा रही व्यवसायिक कार्यसम्पादनमा जुट्न सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी
कर्मचारीहरुलाई समेत त्यसैअवसरमा निर्देशन दिए ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
कटुवा पेस्तोल तथा लागूऔषधसहित पक्राउ
मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले एउटा कटुवा पेस्ताल तथा २ सय ९२ वटा एभिल र २ सय ९५ वटा लुपिजेसिक नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको अररिया जोगवनी ग्रामपञ्चायत घर बताउने ४१ वर्षीय पप्पुकुमार पटेल रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका पटेललाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त पेस्तोल तथा लागूऔषध फेला परेको हो ।
पक्राउ परेका पटेललाई बरामद पेस्तोल तथा लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।