काठमाडाैं, असार २९ः प्रधानमन्त्री केपी ओलीले सर्वोच्चको फैसला पालना गर्ने बताएका छन्। सोमबार सर्वोच्च अदालतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि प्रधानमन्त्रीको रुपमा अन्तिम पटक देशबासीका नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। अदालतको व्यख्या गलत भएको तर्क गर्दै ओलीले त्यसका पालना भने गर्ने प्रष्ट पारेका हुन्।
ओलीले अहिलेको राजनीतिक परिस्थितिलाई एकैछिन लागेको बादलको संज्ञा दिँदै फेरि सूर्य उदाउने बताएका छन् । अब आफू र आफ्नो पार्टी नेकपा एमाले लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि चौबीसै घण्टा खडा भएर खबरदारी गरिरहने ओलीले घोषणा गरेका छन् ।
मंगलबार सिंहदरबारबाट बाहिरिने बेलामा करिब एक घण्टा देशवासीका नाममा सम्वोधन गरेका ओलीले भने, ‘एकछिन बादल लागेको छ, फेरि सूर्य बादल हटाएर उदाउने छ ।’
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले आफ्नो सम्वोधनको बिट मार्दै भने, ‘बादलले एकछिन अँध्यारो पार्न सक्ला । घामलाई छेक्न सक्ला । तर, सूर्यको प्रकाशलाई कसैले पनि निस्तेज पार्न सक्दैन ।’
प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको व्यख्याप्रति आपत्ति जनाउँदै ओलीले यसले लोकतान्त्रिक प्रणालीमाथि प्रहार गरेको आरोप लगाए। पार्टी अहिले सरकारबाट बाहिरिनु परेपनि छिट्टै नेतृत्वमा पुग्ने उनको आशय थियो ।
आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको ओलीले दाबी गरे । साथै अबको डेढ वर्षमा चुनाव हुने भन्दै उनले पार्टीका कार्यकर्ताहरूलाई निराश नभई अघि बढ्न आग्रहसमेत गरे ।