बैकिङ्ग कसूर मुद्दाका फरार दुई जना अभियुक्त पक्राउ

| 2021 Jul 13 | 03:51 pm 1661

काठमाडाैं, असार २९ः बैकिङ्ग कसूर मुद्दाका दुई जना फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मीनगरपालिका वडा नं.४ घर भई काठमाडौं महानगरपालिका वडा नं.१० थापागाउँ बस्ने ४९ बर्षीय  गणेशमान श्रेष्ठ र काठमाडाैं महानगरपालिका वडा नं.१९ ढोकाटोल घर भई वडा नं.३१ शान्तिनगर बस्ने  ६३ बर्षीय महेन्द्र प्रसाद मिश्र रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार अभियुक्तहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैकिङ्ग कसूर (चेक बाउन्स) मुद्दाहरुमा सम्मानित उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका दुई जनालाई बिभिन्न स्थानबाट लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं र ललितपुर जिल्ला अदालतमा पेश गरिएकाे बताइएकाे छ।

अभियुक्तहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी माछापुच्छ्रे र सेन्चुरी बैंकका बिभिन्न रकमका चेकहरु काटी दिई बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट बिभिन्न मितिमा निज प्रतिवादीहरुको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम निम्न उल्लेखित सजाय हुने गरी फैसला भएको पाइएकाे छ।

सहारा राणाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गणेशमान श्रेष्ठ भएको बैंकिङ्ग कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको २०७७।११।०४ गतेको फैसलाले श्रेष्ठलाई १५ दिन कैद र ५५ लाख जरिवाना हुने ठहर भएको र उक्त सजाय वेरुजू रही फरार रहेकोले उनलाई ब्यूराेबाट खटीएको टोलिले मिति २०७८/०३/२९ गते लामाटार, ललितपुरबाट पक्राउ गरी कार्यालयमा दाखिला गरेको हुँदा उनलाई फैसला कार्यान्वयनको लागि यसै पत्रसाथ उपस्थित गराईएकाे छ ।

त्यसैगरी डोमा याङ्छेनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी महेन्द्र प्रसाद मिश्र भएको बैंकिङ्ग कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको २०७६।०८।२२ गतेको फैसलाले मिश्रलाई ७ दिन कैद र ५२ लाख जरिवाना हुने ठहर
भएको र उक्त सजाय वेरुजू रही फरार रहेकोले निज प्रतिवादीलाई यस कार्यालयबाट खटीएको टोलिले मिति २०७८/०३/२९ गते महाराजगंज, काठमाडौंबाट पक्राउ गरी यस कार्यालयमा दाखिला गरेको हुँदा उनलाई फैसला कार्यान्वयनको लागि यसै पत्रसाथ उपस्थितगराईएको ब्यूराेले जानकारी दिएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.