नेपालमा रोकिएका विदेशी पर्यटकलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छूट

रिपोर्ट नेपाल | 2021 Jul 13 | 08:11 am 1773

काठमाडौं, असार २९ः कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छूट दिइएकोे छ ।

दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएको र नियमित रूपमा हुँदै आएको अन्तर्राष्ट्रिय उडान बन्द भएकाले नेपालमा रोकिएका विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्कमा छूट दिइएको हो । अध्यागमन विभागले एक सूचना जारी गर्दै गत वैशाख १५ गतेसम्म प्रवेशाज्ञाको अवधि भएका पर्यटकका लागि यही असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शुल्कमा छूट दिइएको बताएको हो ।

‘वैशाख १५ गतेसम्म नेपालको वैध प्रवेशाज्ञा भएका र असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुने विदेशीको हकमा निजको प्रस्थानका समयमै अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क प्रवेशाज्ञा नियमित हुनेछ,’ सूचनामा भनिएको छ ।

प्रवेशाज्ञाको अवधि सकिएका विदेशी पर्यटकले नेपालमा थप बस्दा दैनिक तीन अमेरिकी डलर बराबरको प्रवेशाज्ञा शुल्क र त्यस अवधिमा प्रवेशाज्ञा नियमित नहुँदा जरिवानाबापत दैनिक पाँच डलर शुल्क लाग्छ । विभागको सूचना अनुसार नेपालमा आफ्नो बसाइ थप गर्न असार २५ गतेदेखि आवेदन गर्ने र आगामी साउन १ गतेदेखि नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियमानुसार प्रवेशाज्ञा शुल्क, विलम्ब शुल्क र जरीवाना लाग्नेछ । आर्थिक अभियान दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.