पहिलोपटक फ्लाइओभर बनाउन टेन्डर

रिपोर्ट नेपाल | 2021 Jul 13 | 07:58 am 2005

काठमाडाैं, असार २९ः सरकारले पहिलोपटक कोटेश्वर–कंलकी सडक खण्डको ग्वार्काेमा फ्लाइओभर निर्माण गर्ने भएको छ। सडक विभाग मातहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्काे चोकमा फ्लाइओभर निर्माणको लागि सोमबार टेन्डर आह्वान गरेको हो। फ्लाइओभर निर्माणमा सहभागी हुने ठेकेदार कम्पनीले आगामी साउन २६ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७७/७८ को बजेटमा कंलकी–कोटेश्वर सडक खण्डको विभिन्न तीन ठाउँमा फ्लाइओभर निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेका थिए।

अर्थमन्त्रीले चालु आर्थिक वर्षको बजेटमा समावेश गरेकोमध्ये एउटा मात्रै खण्डमा फ्लाइओभर निर्माणको लागि टेन्डर आह्वान भएको हो। सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले ग्वार्काे चोकको फ्लाइओभर (ओभरपास) इन्जिनियरिङ प्रोक्योरेमेन्ट कन्सट्रक्सन (इपिसी) मोडलमा बनाइने बताए।

‘चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएको योजनालाई मूर्त रूप लिन टेन्डर आह्वान गरिएको हो,’ उनले भने, ‘फ्लाइओभर नेपालकै पहिलो परियोजना हो। फ्लाइओभरभन्दा पनि ओभरपास निर्माण गर्न लागिएको हो।’ महानिर्देशक थापाले पूर्वाधार विकासमा फ्लाइओभरको निर्माणले ठूलो अर्थ राख्ने दाबी गरे।

‘विदेशी मुलुकमा पर्याप्त मात्रामा फ्लाइओभर बने पनि नेपालमा अहिलेसम्म बनेको छैन। त्यसैले पनि नेपाली इन्जिनियर तथा नेपाली जनताको लागि फ्लाइओभर सपना निकै ठूलो देखिएको छ,’ उनले भने, ‘फ्लाइओभर निर्माणले नेपालको पूर्वाधार क्षेत्रमा ठूलो फड्को पार्ने अपेक्षा राखेका छौं।’

केन्द्रले करिब ३० करोड लागतमा फ्लाइओभर निर्माण हुने जनाएको छ । सडक विभागका अनुसार ग्वार्काे चोकमा बन्ने फ्लाइओभर चक्रपथको चारैतर्फ फैलिनेछ। यो फ्लाइओभर करिब पाँच सय मिटर लम्बाइको हुनेछ।  नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.