नयाँ सरकार बनाउन गृहकार्य शुरू

रिपोर्ट नेपाल | 2021 Jul 13 | 07:20 am 1801

काठमाडौं, असार २९ः सर्वोच्च अदालतको फैसलासँगै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाएको छ । अदालतले विघटित प्रतिनिधिसभा पुनः स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै विपक्षी गठबन्धनले सरकार गठनको गृहकार्य अगाडि बढाएको हो ।

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले मंगलबार सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । सर्वोच्चको फैसलालगत्तै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा बसेको विपक्षी दलको बैठकपछि नेता खाँडले यस्तो जानकारी दिएका हुन् । उनले बैठकमा सहमति र सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको बताउँदै सहमतिकै आधारमा सकेसम्म राष्ट्रिय सहमतिको सरकार गठन गरेर अगाडि बढ्ने बताए ।

बैठकमा कांग्रेसका नेताहरूले नेपाललाई पनि नयाँ सरकार गठनमा सहभागी हुन आग्रह गरेका थिए । तर, नेता नेपालले पार्टीभित्रको जारी विवाद समाधान गर्न १० बुँदे सहमति भई नयाँ परिस्थिति निर्माण भएकाले तत्काल सरकारमा सहभागी नहुने संकेत गरेका थिए ।

नेता नेपालले संसद् पुनःस्थापित गर्ने कार्यसम्म आफूले साथ दिएको र अब विपक्षी गठबन्धनमा सहभागी नहुने पनि सक्ने स्पष्ट पारेकाे बैठकमा सहभागी नेताहरूले बताए । ‘हामी हिजो विभाजित जस्तो अवस्थामा थियाैं, अहिले पार्टीलाई एकताबद्ध बनाएर लैजान प्रयास भइरहेकाले हाम्रो परिवर्तित परिस्थितिलाई बुझिदिनुहोला’, एमाले नेपालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी रघुजी पन्तले भने– ‘देशभित्र रहेका विद्यमान समस्या समाधान गर्न शेरबहादुर देउवाजीले काम गर्नुहोस् ।’

उनले देउवा नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय पार्टीले गर्ने निर्णयमा निर्भर हुने बताए । बैठकमा नेता नेपालले सभापति देउवालाई प्रधानमन्त्री भएपछि एकलौटी ढंगले अगाडि नबढ्न सुझाव दिँदै राजनीतिक दलहरूसँग सरसल्लाह गरेर मात्र अगाडि बढ्नुपर्नेमा जोड दिएकाे नेता पन्तले बताए ।

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संविधान र संसद्को रक्षा गर्ने सवालमा सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताउँदै लोकतन्त्र, संविधान, गणतन्त्र र संघीयताको रक्षाका लागि गठबन्धन एकताबद्ध भएर अगाडि बढ्ने समझदारी भएको बताए ।

प्रतिनिधिसभा पुनःस्थापन गर्ने सर्वोच्च अदालतको निर्णयको विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी उपेन्द्र यादव समूह, नेकपा एमाले नेपाल समूह र राष्ट्रिय जनमोर्चाले स्वागत गरेका छन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.