११ महिनामा सवा तीन अर्बको क्लिंकर आयात

| 2021 Jul 09 | 08:20 am 1785

काठमाडाैं, असार २५ः मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको दाबी गरिए पनि चालू आर्थिक वर्षमा तयारी सिमेन्ट तथा स्वदेशी उद्योगका लागि आवश्यक कच्चा पदार्थ क्लिंकरको आयात बढेको छ । भन्सार विभागका अनुसार जेठ मसान्तसम्म तीन अर्ब २० करोड रुपैयाँ बराबरको क्लिंकर आयात भएको छ । यस्तै, तयारी सिमेन्टको आयात पनि उल्लेख्य बढेको छ ।

विभागका अनुसार चालू आवको जेठसम्ममा चार करोड २२ लाख ७१ हजार किलो क्लिंकर आयात भइसकेको छ । जसको भन्सार मूल्यांकन तीन अर्ब २० करोड २८ लाख छ र यसबाट एक अर्ब ५९ करोड ४१ लाख रुपैयाँ बराबरको राजस्व प्राप्त भएको छ । यसरी सरकारी राजस्वमा सिमेन्ट तथा क्लिंकर पनि बर्सेनि ठूलो स्रोत बन्दै आएको छ ।

यता स्वदेशी सिमेन्ट उद्योगहरूले भने नेपालको माग पूरा गर्नसक्ने र निर्यातका लागि पनि तयार रहेको बताउँदै आएका छन् तर जेठसम्ममा २८ करोड ९० लाख ६२ हजार रुपैयाँ बराबरको एक करोड ६९ लाख ६७ हजार किलोग्राम ह्वाइट पोर्टल्यान्ड सिमेन्ट आयात भएको तथ्यांक छ । जसबाट १३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । नेपालमा भारतबाट सिमेन्ट तथा क्लिंकर आयात हुने भए पनि यो अवधिमा चीनबाट समेत व्यवसायीले सिमेन्ट भित्र्याएका छन् । जसको परिमाण भने नगण्य छ ।

नेपाल राष्ट्र बैंकले भने वैशाख मसान्तसम्ममै तीन अर्ब ७८ करोडको सिमेन्ट तथा क्लिंकर आयात भएको तथ्यांक प्रकाशित गरेको छ । भन्सार विभागले सिमेन्टका प्रकार तथा क्लिंकर आयातको तथ्यांक छुट्टाछुट्टै राख्ने तर केन्द्रीय बैंकले सिमेन्टजन्य वस्तु आयातको तथ्यांक एकीकृत रूपमा राख्ने भएकाले तथ्यांकमा एकरुपता नभएको उद्योगीहरूको भनाइ छ । राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्ममा नै सिमेन्ट तथा क्लिंकर आयात गत वर्षको तुलनामा २७.१ प्रतिशतले वृद्धि भएको छ । तर गत वर्षको सोही अवधिमा आयातमा ७५.५ प्रतिशतले गिरावट आएको तथ्यांक छ ।

यसअघि राष्ट्र बैंकले गरेको अध्ययनले पनि मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको देखाएको छ । मुलुकका ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता एक करोड ५० लाख टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार टन रहेको केन्द्रीय बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । तर सोही अध्ययनअनुसार आन्तरिक रूपमा यी उद्योगबाट ७४ लाख ९० हजार टन सिमेन्ट उत्पादन भएको छ भने १५ लाख ६० हजार मेट्रिक टन आयात भएको छ ।

प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरूको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत रहेको छ भने सरकारीतर्र्फ ५०.१२ र निजी स्वामित्वका उद्योगहरूको ६३.७८ प्रतिशत रहेको छ । उद्योगको जडित क्षमताभन्दा कम क्षमतामा सञ्चालन हुँदा यस्तो अवस्था देखिएको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

नेपालमा आयात हुने सिमेन्टमध्ये सबैजसो भारतबाटै आयात हुने गरेको छ । सिमेन्ट उत्पादकहरूका अनुसार, लकडाउनका कारण नेपाली उद्योग बन्द हुँदा भारतबाट आयात बढेको हो । स्वदशी उद्योग सञ्चालका लागि सरकारले सहजीकरण गर्न नसक्दा सिमेन्ट आयात गर्नुपरेको उनीहरूको दाबी छ ।

नेपाली उद्योग आत्मनिर्भर भइसके पनि सरकारले पर्याप्त सहयोग नगर्दा आयातका नाउँमा बर्सेनि अर्बौं रुपैयाँ विदेशिएको उनीहरूको भनाइ छ । नेपाली सिमेन्ट उद्योगले हाल गुणस्तरीय उत्पादन गर्न थालेकाले भारत वा अन्य मुलुकबाट आयातको आवश्यकता नरहेको दाबी गर्दै आएका छन् । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.