नेपालगञ्ज, असार २३ः भारत र नेपाल दुबै देशमा कोरोना संक्रमण घट्दै गएपछि फेरी एक पटक ठूलो संख्यामा नेपालीहरु रोजगारीका लागि भारत जान थालेका छन् ।
कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका हजार भन्दा बढी युवा दैनिक रोजगारीका लागि भारततर्फ गैरहेको यहाँस्थित नेपाल भारत नाकामा रहेको जमुनाह प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख सई सन्तोष खनालले केही दिन यता आएर फेरी दैनिक भारतजाने नेपालीको लर्को सीमानामा लागिरहेको बताए । उनले अहिले दैनिक एक हजार भन्दा बढी नेपाली युवा कामका लागि भारततर्फ गैरहेको जनाए।
जमुनाह प्रहरीका अनुसार केही समय अघिसम्म भारतबाट फर्किने नेपालीको संख्या बढी थियो भने अहिले फेरी भारत जानेको संख्या अत्याधिक बढेको छ ।
कोरोना पुर्ण रुपमा नियन्त्रणमा नआएपनि नेपालमा काम नपाएपछि बाध्य भएर फेरी कामका लागि भारत जानु परेको सीमानामा भेटिएका अधिकांश युवाको भनाई छ ।