म्याग्दीको दग्‍नाम तोयमा सडक भासियो, वैकल्पिका मार्गका लागि श्रमदान

रिपोर्ट नेपाल | 2018 Jul 17 | 09:01 am 4392

म्याग्दी, साउन १ : म्याग्दीको रघुगंगा गाउँपालिका-४, दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ।

गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम जोड्ने सडकको दवाङ भिर र तोय क्षेत्रमा केही दिनदेखिको वर्षात्पछि सोमबार दिउँसो जमीन धाँजा फाटेर पहिरो जाँदा करीब २५ मिटर सडक भासिएको हो।

सडक तलको भिरालो जमीन धाँजा फाटेर पहिरो गएपछि सडकमा सवारीसाधन चल्न नसक्ने भएको दग्नामका वडाध्यक्ष एकबहादुर गर्बुजाले बताउनुभयो । पहिरो जाने क्रम नरोकिएकाले सडक भासिनेक्रम जारी छ । मानिससमेत आवतजावत गर्न जोखिम बढेकाले बाटो बन्द गरिएको वडाध्यक्ष गर्बुजाले बताए।

वैकल्पिक गोरेटो बाटो निर्माणका लागि वडाका जनप्रतिनिधिले आज श्रमदानको आह्वान गरेका छन्। सडक भासिँदा दग्नाम, दर्मीजा, चिमखोला, कुइनेमंगलेका बासिन्दालाई आवतजावतमा समस्या भएको छ। सो स्थानमा विगत तीनचार वर्ष अघिदेखि जमीन धाँजा फाटेर पहिरो जाने समस्या थियो।

सडक खनेपछि पहिरो जाने र जमीन भासिने क्रम बढेको स्थानीयवासीले बताएका छन्। पहिरो प्रभावित क्षेत्रको सोमबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारी, प्रजिअ लिलाधर अधिकारी, उपाध्यक्ष कमला तिलीजालगायत जनप्रतिनिधि र सुरक्षा अधिकारीको टोलीले स्थलगत निरीक्षण गरेको छ।

निरन्तर पहिरो बगिरहेकाले उच्च जोखिम भएको ठहर गर्दै पैदलबाट समेत आवतजावत बन्द गरेर वैकल्पिक बाटोको व्यवस्था मिलाउने तयारी भएको पहिरो प्रभावित स्थलमा पुगेर फर्कनुभएका रघुगंगा गाउँ कार्यपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक रिम कटुवालले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.