काठमाडाैं, असार २०ः सरकारले प्राकृतिक विपत्तिबाट घरमा क्षति पुगेका ५ सय ७२ परिवारका लागि ५० हजारका दरले राहत दिने घाेषणा गरेका छन् ।
आइतबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री विष्णुप्रसाद पौडेलले यो वर्ष मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालय मार्फत सो रकम दिइने जानकारी गराएका हुन् ।
उनले यो वर्ष मनसुनबाट सिर्जना भएको प्राकृतिक विपत्तिबाट ५ सय ६५ घरमा पूर्ण क्षति भएको, १ सय १२ घरमा सामान्य क्षति पुगेको जानकारी गराए । उनले क्षतिग्रस्त घरको पुनर्निर्माणमा सरकारले सहयोग गर्ने उल्लेख गरे ।
हालसम्म सिन्धुपाल्चोक मनाङ, लमजुङ गोरखा, कास्की, अर्घाखाँची, खोटाङ तनहुँ, सर्लाही लगायतका जिल्लाहरुमा ५ सय ६५ घर पूर्ण रुपमा क्षति भएको छ । १ सय १२ घरमा आंशिक क्षति भएको छ ।