आलु खेतीको क्षेत्रफल बढ्यो उत्पादन र उत्पादकत्व घट्यो

रिपोर्ट नेपाल | 2021 Jul 04 | 07:28 am 1709

हेटौँडा, असार २०ः मकवानपुरको तरकारी पकेट क्षेत्रका रूपमा रहेको थाहा नगरपालिका क्षेत्रमा आलु खेती गरिएको क्षेत्रफल वृद्धि भए पनि आलुको उत्पादन र उत्पादकत्व घटेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आलु लगाइएको क्षेत्रफल विस्तार भए पनि गत वर्षको अनुपातमा यो वर्ष असिना पानीका कारण उत्पादनसँगै उत्पादकत्वमा ह्रास आएको हो ।

गत वर्ष छ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा यो वर्ष बढेर सात सय हेक्टरमा लगाइएको छ । थाहा नगरपालिकाका कृषि शाखाका प्रमुख सञ्जय तिवारीले अघिल्ला वर्षहरूको तुलनामा आलु खेती गर्ने क्षेत्रफल विस्तार भए पनि उत्पादन र उत्पादकत्वमा ह्रास आएको जानकारी दिए । उनले भने, “आलुमा फल लाग्न सुरु भएकै समयमा दुई पटक परेको असिना पानीले कतिपय स्थानमा बोट नै सखाप हुनेगरी चुट्यो, अपेक्षाअनुसार आलु उत्पादन वृद्धि भएन । ”
गत वर्ष यही समयमा थाहा नगरमा नौ हजार मेट्रिक टन आलु उत्पादन भएको थियो । यो वर्ष नौ हजार एक सय टन आलु उत्पादन भएको छ । गत वर्षको भन्दा यो वर्ष कृषकले सुरुमा नै आलुमा राम्रो मूल्य पाएकाले आलु बिक्रीबाट किसानले गत वर्षको अनुपातमा बढी पैसा हात पारेका छन् ।

गत वर्ष थाहा नगरका किसानले २२ करोड ५० लाख रुपियाँ बराबरको आलु बिक्री गरेका थिए तर यो वर्ष उक्त रकममा वृद्धि भएर २७ करोड २० लाख रुपियाँ बराबर आलु बिक्रीबाट किसानले पाउने अनुमान गरिएको कृषि शाखाका प्रमुख तिवारीले बताए ।

“खेतबारीबाट आलु खनेर बिक्री गर्ने क्रम चलिरहेको छ । रातो आलु सुरुमा प्रतिकेजी २० रुपियाँ रहेकामा अहिले नै प्रतिकेजी ४० रुपियाँ पुगिसकेको छ,” उनले भने, “गत वर्षझैँ यस वर्ष पनि बढी आलु हुने र मौज्दात गर्नसक्ने किसानले मूल्य वृद्धिको शृङ्खला हेर्दा प्रतिकेजी ८० रुपियाँसम्म पाउने देखिएको छ । सेतो आलु थाहा नगरमा अहिले प्रतिकेजी २५/२६ रुपियाँमा किसानले बिक्री गर्दै आएका छन् । ”

थाहा नगरमा गत वर्ष प्रतिहेक्टर १५ टन आलु उत्पादन भएकामा यो वर्ष असिना पानीका कारण बोटमा क्षति पुग्दा घटेर प्रतिहेक्टर १३ मेट्रिक टन आलु मात्र उत्पादन भएको थाहा नगरपालिकाको कृषि शाखाले जनाएको छ । अघिल्लो वर्षमा थाहा नगरमा प्रतिहेक्टर २० मेट्रिक टन आलु उत्पादन भएको थियो ।

माघ १५ पछि आलु रापेर थाहा नगरमा जेठको अन्तिम साताबाट किसानले निकाल्न सुरु गर्छन् । यहाँ उत्पादित आलु हेटौँडा, काठमाडौँ, बारा, पर्सा, चितवनलगायतका स्थानमा बिक्रीका लागि जाने गरेको छ ।

कृषकले कार्डिनल, स्थानीय रातोलगायतका जातका आलु आफ्नो खेतबारीमा लगाएका थिए । थाहा नगरपालिकाको दामन, पालुङ, आग्रा, वज्रवाराही, चित्लाङलगायतका स्थानको अधिकांश क्षेत्रमा स्थानीयवासीले आलु खेती गर्दै आएका छन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.