बारा , असार १८ः आज बिहान जंगली हात्तीको आक्रमणबाट बारामा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका-२ औधापुर निवासी ४५ बर्षीय रामदेव पटेल रहेका छन् ।
खेतमा काम गरिरहेका पटेललाई बिहान करिव पौने आठ बजे जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए । घाइते भएका पटेललाई उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।
उक्त हात्तीलाई नियन्त्रणमा लिनका लागि राष्ट्रिय निकुञ्ज र प्रहरी टोली प्रयासरत रहेको डिएसपी मिश्राले जानकारी दिए ।
जङ्गल क्षेत्रबाट करिब १५ किलोमिटर टाढा जिल्ला सदरमुकाम कलैया नजिक गएर हात्तीले आक्रमण गर्न थालेपछि स्थानीयहरु चिन्तित बनेका छन् ।