खरिदसम्बन्धी काम गर्ने कर्मचारीको योग्यता निर्धारण

रिपोर्ट नेपाल | 2021 Jul 02 | 08:34 am 1445

काठमाडौँ, असार १८ः सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायमा खरिदसम्बन्धी कार्य गर्ने कर्मचारीको योग्यता निर्धारण गरेको छ । सार्वजनिक निकायको खरिद कार्यमा काम गर्ने कर्मचारीको न्यूनतम योग्यता निर्धारण गरी सबै सार्वजनिक निकायमा एकरूपता ल्याउने उद्देश्यले सचिवस्तरीय निर्णयबाट बिहीबार कर्मचारीको योग्यता निर्धारण मापदण्ड २०७८ लागू गरिएको हो ।

नयाँ मापदण्डअनुसार सार्वजनिक निकायले आफूअन्तर्गतको सार्वजनिक खरिद प्रयोजनका लागि खरिद एकाइ प्रमुखसमेत तीनदेखि पाँच जना रहने गरी खरिद एकाइ गठन गर्नुपर्ने, यसरी गठन गर्दा प्रशासनिक, प्राविधिक र लेखासम्बन्धी काम गर्ने कर्मचारीमध्येबाट खरिदसम्बन्धी ज्ञान भएका र तालिम लिएका कर्मचारीलाई समावेश गर्नुपर्ने व्यवस्था गरेको छ । कुनै कार्यालयमा स्थायी रूपमा नै खरिद महाशाखा, शाखा वा एकाइ रहेको छ भने त्यसको प्रमुखको संयोजकत्वमा खरिद एकाइ गठन गर्नुपर्नेछ ।

त्यस्तै खरिद एकाइ प्रमुख र सदस्यको योग्यता तोक्दा मूल्याङ्कन समितिका निर्धारित पदाधिकारीबाहेकका कर्मचारीमध्येबाट वरिष्ठ कर्मचारीलाई खरिद एकाइ प्रमुखको जिम्मेवारी तोक्नुपर्नेछ । कुनै निकायको सङ्गठन संरचनामा स्थायी रूपमा खरिद महाशाखा, शाखा वा एकाइ रहेको छ भने त्यही निकायको प्रमुखलाई खरिद एकाइको प्रमुखको जिम्मेवारी दिनुपर्ने मापदण्डमा उल्लेख छ ।

एकाइ प्रमुख तोक्दा सार्वजनिक निकायको प्रमुख जुन श्रेणी वा तहको रहेको छ, त्योभन्दा एक श्रेणी वा तहमुनिका कर्मचारीलाई तोक्नुपर्ने र यसरी एक तह वा श्रेणीमुनिको कर्मचारीलाई तोक्न सम्भव नभएका दुई श्रेणीमुनिका कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिन सकिनेछ । गाेरखापत्र दैनिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.