धौवादी फलाम खानीका लागि छ अन्तर्राष्ट्रिय कम्पनी छनोट

| 2021 Jun 30 | 07:17 am 1333

काठमाडौँ, असार १६ः धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन (डीएफएस) तथा परियोजना प्रतिवेदन तयार पार्न छवटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छनोट गरिएको छ ।

धौवादी फलाम खानी कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक चन्दले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा आवेदन दिएका ११ वटा परामर्शदाता कम्पनीमध्ये छवटा कम्पनीलाई सङ्क्षिप्त सूचीमा समावेश गरेको जानकारी दिए।

चीनका क्यापिटल इन्जिनियरिङ एन्ड रिसर्च इनकर्पोरेसन र सान्डोङ जियो–सर्भिसिङ एन्ड म्यापिङ इन्स्टिच्युट, दक्षिण अफ्रिकाको फ्लुर सा लिमिटेड, अस्ट्रियाको हन्स बेसिन्गर कन्सल्टेन्सी÷एक्सक्लुटिभ कन्सल्टिङ इन्जिनियरिङ एन्ड प्लानर प्रालि (जेभी) तथा भारतको एमएन डस्टर एन्ड कम्पनी/माइनिङ सर्भिस इन्डिया (जेभी) र मेकन लिमिटेड छनोट भएको प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिए।

अबको तीन महिनाभित्र छनोट भएका कम्पनीसँग सम्झौता भई काम अगाडि बढ्ने प्रमुख कार्यकारी अधिकृत चन्दले बताए । पूर्व–पश्चिम राजमार्गको कावासोतीदेखि करिब २० किलोमिटर उत्तरमा रहेको नवलपुर जिल्लाको होप्सेकोट गाउँपालिकाको नाम्जाकोटदेखि धौवादीसम्म करिब १६० वर्ग किलोमिटर क्षेत्रमा फलाम खानी रहेको अध्ययनले देखाएको छ । १० किलोमिटर लम्बाइ, २५ देखि ३० मिटर मोटाइ भएको फलाम खानीको भण्डारमा १० करोड टन फलाम रहेको अनुमान गरिएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.