तीन सवारी एकआपसमा जुद्धा तीन जनाको मृत्यु

| 2021 Jun 27 | 02:00 pm 1625

सुनसरी, असार १३ः पूर्वपश्चिम राजमार्ग अन्तरगत सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ नम्बर वडाको भाण्टाबारी र हरिपुर चोकबीच सडक खण्डमा तीन सवारी एकआपसमा जुद्धा तीन जनाको घटनास्थलमै मत्यु भएको छ  भने दुई जना गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान करिब साढे ७ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२४४ नम्बरको हायसले विपरीत दिसाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर अर्को पश्चिमबाट आउँदै गरेको को १ च ९३६८ नम्बरको पिकअपलाई समेत ठक्कर दिँदा पिकअप चालक र मोटरसाइकलमा सवार दुई जनासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

दुर्घटनामा परी पिकअप चालक मोरङको विराटनगर महानगरपालिका–७ का ३५ वर्षीय अक्षयकुमार गुप्ताको स्टेरिङमा च्यापिएर मृत्यु भएको छ । तरकारी खरिद ढुवानी गर्न हिँडेका हुनसक्ने उनको गोजीबाट १ लाख ७५ हजार रुपियाँ नगद पनि प्रहरीले फेला पारेको छ ।

सोही हायसले ठक्कर दिएको मोटरसाइकलमा सवार दुई जनाको पनि घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि बस्ने मोरङ विराटनगर ९ का ४५ वर्षीय रामप्रसाद शाहा र सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ का उद्य साह रहेका छन् ।

हायस चालक विदुर नगरपालिका ३ नुवाकोटका ३५ वर्षीय विवश तामाङ र सोही स्थान बस्ने सहचालक नारायण बस्यालसहित दुई जना घाइते भएका छन् भने सह–चालक बस्नेतको खुट्टा भाँचिएको छ ।

दुर्घटना पूर्वबाट जाँदै गरेको हायसको तीव्र गतिको कारण भएको घटनाको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । पहिले मोटरसाइकललाई ठक्कर दिएर हायस पिकअपमा ठोक्किन पुगेको देखिएको प्रहरीको भनाइ छ । सो दुर्घटनाको बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.